१२ श्रावण २०८१, शनिबार

दुवै अतिवादी सोंचलाई सहमतिमा ल्याउँछौंं– काँग्रेस नेता वडू



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र वडूले ‘मधेसका कुरा सुन्नै हुन्न’ भन्ने एमालेको र ‘संविधान संशोधन नभएसम्म चुनाव हुनै सक्दैन’ भन्ने मधेसवादी दल दुवैलाई सहमतिमा ल्याउन नेपाली काँग्रेसले पहल गरिरहेको बताएका छन् ।
‘यी दुवै अतिवादी सोंच हुन्’ बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस नेता वडूले भने– ‘यी दुवै सोंचलाई सहमतिमा ल्याउनु अनिवार्य छ । उनले तोकिएको मितिमा निर्वाचन नभएमा मुलुक फेरि नराम्रो द्वन्द्वमा फस्ने चर्चा गरे ।
‘मधेसी दल निर्वाचनमा आउनै चाहेनन् भने के उनीहरूलाई छोडेर निर्वाचन हुन्छ ?’ पत्रकारको एक जिज्ञासामा उनले भने– ‘यस्तो अवस्था नै आउँदैन भन्ने हाम्रो विश्वास छ । किनकि मधेसी जनतामा पनि निर्वाचनका प्रति अपार उत्साह जागेको छ । मधेसी जनताको यही उत्साह र दबाबले पनि मधेसवादी दललाई चुनावमा आउन बाध्य पार्ने छ ।’
नेता वडूले कुनै पनि हालतमा वैशाख ३१ गते घोषित स्थानीय तह निर्वाचनको मिति परिवर्तन नहुने बताए । उनले एमालेले पनि आफ्नो जिद्दीबाट लचकता अपनाउने विशस व्यक्त गरे ।
उनले प्रदेश सीमांकनको विषयलाई आयोगमार्फत पछि टुंग्याउने गरी अरू विषयमा संविधान संशोधन गरेर मधेसवादी दललाई पनि सहमतिमा ल्याउन काँग्रेसले पहल गरिरहेको बताए ।
संविधान निर्माणको नेतृत्व काँग्रेसले गरेको स्मरण गर्दै उनले अब मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति र द्रुत आर्थिक समृद्धि गर्ने कार्यको पनि काँग्रेसले नै नेतृत्व गर्ने बताए । ‘मुलुकको दु्रत आर्थिक समृद्धिको सुरुवात सुदूरपश्चिम अथवा प्रदेश नम्बर ७ बाट गर्ने काँग्रेसको अठोट हो’ उनले आगामी २७ गते अत्तरियामा प्रदेशस्तरीय आमसभा गर्नुका पछाडि काँग्रेसको यही सन्देश प्रवाह पनि गर्नका लागि भएको बताए ।
यसै गरी, बिहीबार नै नेविसंघ कैलालीका पूर्व अध्यक्ष कृष्ण कुवँरले धनगढीको वसन्तटोलमा नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता बडूले यो निर्वाचन निकै महत्त्वपूर्ण रहेकाले पार्टीले उपयुक्त उम्मेदवार चयन गर्ने बताए । उनले स्थानीय तहका उम्मेदवार चयनका लागि काँग्रेसले स्थानीय स्तरमै जिम्मा दिएकाले उपयुक्त उम्मेदवार चयन हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसद प्यारलाल राना, जिविस कैलालीका पूर्व सभापति नारायणदत्त मिश्र, काँग्रेसका क्षेत्रीय सभापति हरिश खड्का, महाधिवेशन प्रतिनिधि कृष्ण महरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम युवा नेता कुँवरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार