४ आश्विन २०८१, शुक्रबार

नयाँशक्ति पार्टीको निर्वाचन कार्यालयमा विरोध



धनगढी । स्थानीय तह निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्ह पाउनु पर्ने माग गदै नयाँशक्ति पार्टीले सोमबार कैलालीमा तीन घण्टा निर्वाचन कार्यालय घेराउ गरेको छ ।
बिहान १० बजेदेखि १ बजेसम्म धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा नयाँशक्ति पार्टीका नेता तथा कार्यकर्ताले नारावाजीसहित घेराउ गरेका हुन् ।
निर्वाचन आयोगले तोकेको सबै प्रक्रिया पूरा गरेर दल दर्ता भएकाले आफ्नो पार्टीले देशभरिका लागि एउटै चुनाव चिन्ह पाउनुपर्ने माग सहित निर्वाचन कार्यालय घेराउ गरिएको सो पार्टीका कैलाली संयोजक कृष्णकुमार चौधरीले बताए । उनले दल दर्ता गर्ने बेला नै चुनाव चिन्ह दिइएकोले सोही चुनाव चिन्हमा निर्वाचन लडन पाउनु पर्ने बताए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिन्ह दिइने उल्लेख छ । राष्ट्रिय दल भनेर संसद्मा भएका २८ दललाई परिभाषित गरिएको छ र समानुपातिक मतका आधारमा चुनाव चिन्हको रोलक्रम तोकिएको छ । त्यस्तै, उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दलका उम्मेवार तथा स्वतन्त्र उम्मेवारलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव चिन्ह प्रदान गरिने व्यवस्था छ । राष्ट्रिय दलको मान्यता नपाएको नयाँशक्तिले राष्ट्रिय दलसरह एउटै चुनाव चिन्हमा देशभर चुनाव लडन पाउनु पर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार