१२ श्रावण २०८१, शनिबार

नयाँशक्ति पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ



धनगढी । स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिन्ह पाउनु पर्ने माग गर्दै नयाँशक्ति पार्टीले आइतबार देशभरका निर्वाचन कार्यालयहरूमा घेराउ गरेको छ ।
यस क्रममा धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा नयाँशक्ति पार्टीका नेता तथा कार्यकर्ताले नारावाजी सहित घेराउ गरे ।
निर्वाचन आयोगले तोकेको सबै प्रक्रिया पूरा गरेर दल दर्ता भएकाले आफ्नो पार्टीले देशभरिका लागि एउटै चुनाव चिन्ह पाउनुपर्ने माग सहित निर्वाचन कार्यालय घेराउ गरिएको सो पार्टीका कैलाली संयोजक कृष्णकुमार चौधरीले बताए । उनले दल दर्ता गर्ने बेला नै चुनाव चिन्ह दिइएकोले सोही चुनाव चिन्हमा निर्वाचन लडन पाउनु पर्ने बताए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा निर्वाचन चिन्हसम्बन्धी व्यवस्था छ । यसले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई वितरण गर्ने चुनाव चिन्ह निर्धारण गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ ।
ऐनको उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिन्ह दिइने उल्लेख छ । राष्ट्रिय दल भनेर संसद्मा भएका २८ दललाई परिभाषित गरिएको छ र समानुपातिक मतका आधारमा चुनाव चिन्हको रोलक्रम तोकिएको छ ।
त्यस्तै, उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दलका उम्मेवार तथा स्वतन्त्र उम्मेवारलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव चिन्ह प्रदान गरिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार