६ कार्तिक २०८१, मंगलवार

इजरायलमा प्रवासी संघसंगठनको सामूहिक शुभकामना आदानप्रदान कार्यक्रम हुने



इजरायल । नेपालीहरूको नयाँवर्ष विक्रम संम्वत् २०७४ सालको उपलक्ष्यमा इजरायलमा रहेका नेपालका राजनीतिक दल आबद्ध विभिन्न प्रवासी संघसंगठनले सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएका छन् ।
यही १४ अप्रिल (वैशाख १ गते)ं शुक्रवार दिउँसो ४ बजे तेलअभिवस्थित लेवन्स्की पार्कमा नयाँवर्ष २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको हो ।
रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालीहरूबीच आपसमा भेटघाट र चिनजान गर्ने अवसर मिल्ने तथा आफ्नो देशको नयाँवर्षको शुभारम्भको खुसीयालीमा इजरायलमा रहेका नेपाली राजनीतिक दलका भातृ संघसंगठनहरू मिलेर सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष तीर्थ गौतमले बताए ।
राजनीतिक दल आबद्ध संघसंगठनले सामूहिकरुपमा गर्न लागेको यो कार्यक्रमले इजरायलमा रहेका नेपाली मूलका विभिन्न धर्म, संस्कृति तथा नेपाल राष्ट्र र राष्ट्रियताप्रति जागूरुक गराई एकआपसमा भाइचाराको सम्बन्ध ल्याई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसमा एकीकृत गराउने कार्यक्रमको उद्देश्य रहेको आयोजक पक्षको भनाई छ ।
अध्यक्ष गौतमले नेपाली नयाँवर्षको शुभारम्भको अवसर पारेर नेपालका राजनीतिक दल आबद्ध प्रवासी संघसंगठनहरूले इजरायलमा पहिलोपटक आयोजना गर्न लागेको यो शुभकामना आदानप्रदान कार्यक्रमले आफूहरूबीच कुनै मनमुटाव नरहेको र सधैँ आपसमा हार्दिकताको सम्बन्ध रहेको सन्देश प्रवाह गर्ने हुने र आउँदा दिनमा हरेक कार्यक्रम सामूहिकरुपमा आयोजना गरी इजरायलमा छरिएर रहेका नेपालीबीच एकताको भावना जागृत गराउने छ भने ।
कार्यक्रममा इजरायलमा रहेका नेपाली जन सम्पर्क समिति, प्रवासी नेपाली मञ्च, सङ्घीय समाजवादी फोरम नेपाल, अन्तर्राष्ट्रिय नेपाली समाज, प्रवासी नेपाली एकता समाज लगायतको सहभागिता रहने अध्यक्ष गौतमले जानकारी दिए ।
इजरायलमा रहेका नेपाली आबद्ध सम्पूर्ण सामाजिक र धार्मिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइ दिनहुन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार