१२ श्रावण २०८१, शनिबार

आनन्दबजार घटना : चापागाईंको उपचार र भरणपोषणका लागि निर्देशन



काठमाडौँ  । संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले कञ्चनपुरको पुनर्वास नगरपालिका आनन्दबजार घटनामा घाइते भएका टिकाराम चापागाईंको उपचार र परिवारको भरणपोषणको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रवार बसेको बैठकले उपचाररत चापागाईंको उपचार र परिवारको भरणपोषणको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।
गत फागुन २६ गते भारतीय एसएसबीको गोली लागि घाइते भएका चापागाईको हाल काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
समितिले चापागाईको उपचार खर्च सरकारले व्यहोरिरहेकोमा खुसी व्यक्त गर्दै उपचारका लागि काठमाडौँमा रहेका बिरामीका आफन्त तथा परिवारको भरणपोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।
समितिले नेपाल भारतबीचको सीमा विवाद र सीमा सुरक्षासम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन रणनीति तय गर्ने उद्देश्यका साथ सरकारका सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने निर्णय पनि गरेको छ ।
उपसमितिले बुझाएको प्रतिवेदनमा भारतले सीमा मिच्दासमेत नेपाली सुरक्षाकर्मीको उपस्थिति नदेखिएकाले समस्या समाधानका लागि ठोस पहल गर्न सरकारसँगै आवश्यक छलफल गर्ने निष्कर्षमा समिति पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार