१२ श्रावण २०८१, शनिबार

आसन्न स्थानीय तह निर्वाचन : राजनीतिक उम्मेदवार तय गर्दै



धनगढी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कैलालीमा विभिन्न राजनीतिक दलले उम्मेदवार चयन गर्ने प्रक्रियालाई तीव्रता दिएका छन् । कैलालीमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी १३ वटा स्थानीय निकाय रहेका छन् ।
उम्मेदवार चयन गर्ने क्रममा धनगढी उपमहानगरपालिकामा राजनीतिक दलहरूले गतिविधि तीव्र बनाएका छन् ।
उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलले मेयर, उपमेयर तथा वडा अध्यक्ष र सदस्यमा आफ्ना उम्मेदवार छनोट गर्ने कार्यलाई तीव्र बनाएका छन् ।
नेपाली काँग्रेसका धनगढी उपमहानगरपालिका सभापति नृप वडले सबै १९ वटै वडामा भेला गरेर विभिन्न पदका आकांक्षी उम्मेदवारहरूको नामावली सङ्कलन गरिएको बताए ।
उनले प्राय: सबै वडामा अध्यक्ष तथा सदस्यका लागि ठुलो सङ्ख्यामा आकांक्षी देखिएका बताए । ‘कुनै वडामा त वडाध्यक्षका लागि मात्रै १८ जनासम्म आकांक्षी देखिएका छन्’ नगर सभापति वडले भने– ‘उपमहानगरपालिकामा ठुलो सङ्ख्यामा काँग्रेसका नेता कार्यकर्ता रहेकोले उम्मेदवारीका लागि धेरै जना आकांक्षी देखिनु स्वाभाविक हो ।
उनले शुक्रवारसम्म उपमहानगरपालिकाका सबै १९ वडामा भेला तथा छलफल कार्य भइसकेको बताए ।
शुक्रवार नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा वडा भेला गरेको थियो । वडा सभापति डण्डीराज सुवेदीको अध्यक्षतामा भएको वडा भेलाबाट ११ जनाले वडाध्यक्षमा र आठ जनाले सदस्यमा आकाङ्क्षा देखाएका थिए ।
नेपाली काँग्रेसले उम्मेदवार चयन प्रक्रियासंगै प्रत्येक वडामा टोल समिति गठन समेत तीव्र बनाएको छ ।
त्यस्तै, नेकपा एमालेले उपमहानगरपालिकामा वडा अध्यक्ष र सदस्यका लागि टोल कमिटि गठनसंगै वडा स्तरका भेला गरिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष दीर्घ सोडारीले आसन्न स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी उम्मेदवार चयन प्रक्रिया तीव्र गतिमा अघि बढाइएको बताए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, ३, ५, ४, ७, १५, १६, १७, १८ र १९ मा वडाध्यक्ष र सदस्यका लागि उम्मेदवार छनौट गरिसकेको जनाएको छ ।
माओवादी केन्द्रका नगर इञ्चार्ज रमेश धामीले बाँकी वडाहरूमा पनि छिट्टै उम्मेदवार चयन कार्य पूरा गरिने बताए ।
स्थानीय तह निर्वाचनबाट प्रत्येक वडामा एक वडाध्यक्ष र एक दलित महिला र एक महिला सदस्य सहित चार जना वडा सदस्य निर्वाचित हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार