१२ श्रावण २०८१, शनिबार

अत्तरिया महिला क्रिकेट : टिम र कप्तानको घोषणा



धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम र कप्तानको घोषणा गरिएको छ ।
आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लबले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने देशभरका विभिन्न छ टिम र तिनका कप्तान घोषणा गरिएको बताए ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा, राइजिङ क्रिकेट एकेडेमी काठमाडौँ, कैलाली जिल्ला क्रिकेट एकेडेमी, कञ्चनपुर–११ तथा बारा महिला क्रिकेट एकेडेमीको सहभागिता रहने जनाइएको छ ।
आयोजक युनाइटेड क्लबका अनुसार एपिएफको कप्तानमा बिना बुढामगर, मिलन क्रिकेट एकेडेमीको कप्तानमा रुविना क्षेत्री, राइजिङको कप्तानमा आरती विडारी, कैलालीको कप्तानमा अञ्जली चन्द, कञ्चनपुर–११ को कप्तानमा विन्दु रावल तथा बाराको कप्तानमा मनिषा चौलागाईंले रहेका छन् ।
आयोजक क्लबका अध्यक्ष रवि खनालले महिला क्रिकेटको विकासका लागि देशकै ठुलो पुरस्कार राशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनका अनुसार प्रतियोगिता वैशाख १० गतेदेखि अत्तरियास्थित सशस्त्र प्रहरी बल एपिएफको क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिता टि–ट्वान्टी फम्र्याटमा खेलाइने छ । प्रतियोगिताको विजेतालाई दुई लाख तथा उपविजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता दश दिनसम्म सञ्चालन हुने छ ।
त्यस्तै, प्रतियोगिताको प्लेयर अफ दि सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ परफर्मेन्स, वेस्ट बलिङ परफर्मेन्स र विकेटकिपरलाई १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, हरेक खेलको प्लेयर अफ दि म्याचले तीन हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालनमा करिब ३५ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार