११ श्रावण २०८१, शुक्रबार

धनसिंहपुर आगजनीको पुन: छानबिन गर– स्थानीय



धनगढी । कैलालीको साविक धनसिंहपुर गाविस कार्यालयमा भएको आगजनी घटनाको पुन: छानविन गर्न स्थानीयले माग गरेका छन् ।
२०७२ साल असोज महिनामा धनसिंहपुर गाविसमा थरुहट/थारूवान संयुक्त सङ्घर्ष समितिले राति गाविस कार्यालयमा आगजनी गरेको आरोप लगाई स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरमा गत ५ गते एक उजुरी पठाउँदै गाविसका कर्मचारीबाट नै सो आगजनी गरिएको दाबी गरेका छन् ।
अख्तियार कार्यालयसहित जिल्ला प्रशासन कार्यालय, कैलाली, जिल्ला प्रहरी कार्यालय, विभिन्न राजनीतिक दलका पार्टी कार्यालय लगायत विभिन्न सञ्चार माध्यमलाई पठाइएको सो पत्रमा भनिएको छ– ‘आगजनी हुनुभन्दा दुईतीन दिन अघि नै गाविसका केही कर्मचारीले कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात, कम्प्युटर लगायतका सामानहरू स्वास्थ्य चौकीको भवनमा सारेका थिए ।
सम्पूर्ण धनसिंहपुर गाविसको तर्फबाट ‘ईमान्दार नागरिकहरू’ निवेदक रहेको सो पत्रअनुसार थरुहटले सो आगजनीमा आफ्नो संलग्नता नरहेको बताएको र अख्तियार कार्यालयमा गाविस कर्मचारीमाथि सुरक्षा भत्तामा घोटाला गरेको, गाविसको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको भनी अख्तियारमा उजुरी परेपछि सोबाट जोगिन आगजनी गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार