११ श्रावण २०८१, शुक्रबार

आनन्दबजार घटना : हराएको पिस्तोल भेटियो



धनगढी  ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–८, आनन्दबजारमा गत महिना फागुन २६ गते भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पिस्तोल र म्यागजिन भेटिएको छ ।
नेपाली भूमिमा निर्माण भइरहेको कल्भर्टका विषयमा स्थानीय नेपाली र भारतीय सुरक्षाकर्मीबीच आनन्दबजारमा चर्को झडप भएको थियो ।
झडपका क्रममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको एक थान पिस्तोल र सात राउन्ड गोली हराएको थियो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोवेन्द्रसिंह देउजाले हराएको पिस्तोल र म्यागजिन भेटिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पिस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो ।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पिस्तोल फेला पारेको हो ।
कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
घटनामा स्थानीयवासी टीकाराम चापागाई गम्भीर घाइते भएका थिए । उनको उपचार जारी छ । आनन्द बजार भएर नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् । आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार