१० श्रावण २०८१, बिहीबार

निर्वाचन आयोगले निर्णय सच्याउनु पर्छ– महामन्त्री चन्द



धनगढी  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले निर्वाचन आयोगले संविधान विपरीत काम गरेको दाबी गर्दै सच्याउन माग गरेका छन् ।
‘नेपालको संविधानमा विचारका आधारमा कसैलाई प्रतिबन्धित गर्न नपाइने व्यवस्था छ’ मङ्गलवार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कैलालीले आयोजना गरेको स्थानीय निर्वाचन तयारीका लागि बृहत् छलफल तथा ‘जनताको बिचमा राप्रपा कार्यक्रम’ मा महामन्त्री चन्दले भने– तर, आयोगले संविधान विपरीत राप्रपा पार्टीको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्णय गरेको छ । उनले निर्वाचन आयोगले गल्ती नसच्याए पार्टीले अदालत र जनतामाझ जाने बताए ।
उनले आयोगले यो यथाशिघ्र सच्याउन माग गरे । ‘राप्रपालाई सत्ताभन्दा ठुलो पार्टीको नीति हो’ उनले आफ्नो पार्टी संविधान कार्यान्वयन र निर्वाचन गराउन सत्तामा गएको बताए । ‘मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि सरकार परिवर्तन हुने सम्भावना बढ्यो’ उनले भने– ‘सरकार परिवर्तन हुने वितिकै निर्वाचन गराउन सकिदैनथ्यो, त्यसैले हामी सरकारमा गएका हौँ ।’
कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर शाहले देशभित्र र देशबाहिरका केही दलले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
कार्यक्रममा केन्द्रीय सदस्य रामदुलारी चौधरीले सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेको हुँदा कार्यकर्तालाई राप्रपालाई देशभरीमै अगाडि ल्याउन काम गर्न निर्देशन दिइन् ।
कार्यक्रममा निवर्तमान सहायक महामन्त्री धर्मानन्द जोशीले नेता वीरेन्द्र बम लगायतले पनि धारणा व्यक्त गरेका थिए ।
राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो । राप्रपाका निर्वतमान अध्यक्ष जनक कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महाधिवेशन प्रतिनिधि छत्र शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार