११ श्रावण २०८१, शुक्रबार

२३ नगरपालिकामा कार्यकारी अधिकृत पठाइए



धनगढी  ।  सरकारले प्रदेश नम्बर ७ का २३ वटा नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । प्रदेश नम्बर ७ मा ३३ वटा नगरपालिका रहेका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बाजुराका चार नगरपालिका, बझाङ्का दुई नगरपालिका, अछामका तीन नगरपालिका, डोटीको एक नगरपालिका, कैलालीको दुई नगरपालिका, बैतडीका तीन नगरपालिका, डडेल्धुराको एक नगरपालिका, कञ्चनपुरको चार नगरपालिका र दार्चुलाको दुई वटा नगरपालिकामा कार्यकारी अधिकृत खटाएको मन्त्रालयको अनलाइनमा जानकारी दिइएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर ७ को धनगढी उपमहानगरपालिका सहित कैलालीका चारवटा नगरपालिका, कञ्चनपुरको तीन नगरपालिका, बैतडी, अछाम र डडेल्धुराको एक/एक नगरपालिकामा कार्यकारी अधिकृत खटाउन बाँकी रहेको जनाएको छ ।
मन्त्रालयले कैलाली जिल्लाको गोदावरी नगरपालिकामा मोहन मरासिनी, गौरीगंगा नगरपालिकामा धर्मराज विनाडी, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा शेरबहादुर बुढा, पुनर्वासमा हिमालाल भण्डारी, वेलौरीमा नरबहादुर विक र महाकाली नगरपालिकामा महेशकुमार बमलाई कार्यकारी अधिकृत खटाएको छ ।
यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकामा मंगलबहादुर शाही, बैतडीको पुर्चौडीमा डिल्ली खडका, पाटनमा उत्तम खतिवडा, मेलौलीमा श्यामकृष्ण पौडेल, अछामको साँफेबगरमा नवराज नेपाल, पञ्चदेवल विनायकमा लोकनाथ पौडेल, कमलबजारमा लोकहरि थापा, शैल्यशिखरमा प्रेमप्रसाद पोखरेल र दार्चुलाको महाकाली नगरपालिकामा सुशील पनेरू कार्यकारी अधिकृत रहेका छन् ।
यस्तै, बझाङको जयपुथ्वी नगरपालिकामा अमरबहादुर खत्री, बुंगलमा कमलप्रसाद गौतम र डोटीको शिखर नगरपालिकामा शेखर आचार्य रहेका छन् ।
बाजुराको त्रिवेणीमा सुरेशराज पन्थी, बुढीगंगामा बालकृष्ण अधिकारी वडिमालिकामा त्रिलोक चन्द र बुढीनन्दा नगरपालिकामा चन्द्रबहादुर शाही कार्यकारी अधिकृत रहेका छन् ।
यस्तै, शुक्रवार कैलाली जिल्लाको कैलाली गाउँपालिकामा कार्यकारी अधिकृत सर्मिला लामिछाने, जानकीनगर गाउँपालिकामा हर्कबहादुर कठायत, बर्दगोरियामा हिरालाल भण्डारी, मोहन्याल गाउँपालिकामा गणेशदत्त ओझा, जोशीपुर गाउँपालिकामा दशरथ ओड र चुरे गाउँपालिकामा चित्रकुमारी कठायतलाई कार्यकारी अधिकृतका रूपमा खटाईएको छ ।
सरकारले देशभरिका पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिकाको लागि कार्यकारी अधिकृत खटाएको अनलाइनमा जनाईएको छ ।
नयाँ संरचनाअनुसार चार महानगरपालिका, १३ उप–महानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिकाका कार्यकारी अधिकृत खटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार