१२ श्रावण २०८१, शनिबार

नवजीवन अस्पतालको वार्षिकोत्सव



धनगढी ।  धनगढीस्थित नवजीवन अस्पताल प्रालिको १२ औँ वार्षिकोत्सव समारोह मङ्गलवार विभिन्न कार्यक्रमसहित भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नवजीवन अस्पतालको सेवालाई ग्रामीण स्तरसम्म विस्तार गर्न तथा उपचार सेवालाई थप गुणस्तर बनाउँदै लैजान सल्लाह दिए ।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विदूरमणि ढकालले १० शैय्याबाट सञ्चालनमा आएको अस्पताल हाल ५० शैय्यामा पुगेको र एक सय शैय्यामा स्तरोन्नतीको लागि गृहकार्य भइरहेको जानकारी दिए ।
उनले २०७२ देखि २०७३ असार मसान्तसम्म करिब २० हजार बिरामीहरूलाई सेवा दिएको पनि जानकारी दिए । उनले जेष्ठ नागरिक, अनाथ आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई समेत नि:शुल्क उपचार दिँदै आएको बताए ।
यस्तै, अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माणको लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको बताए ।
अस्पतालले आगामी वर्ष आईसियु, एनआईसियु र सिसियु सेवा पनि प्रदान गरिने जानकारी दिए । अस्पतालको १५ महिने रेडियोग्राफी र तीन वर्षे एचए शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । त्यस्तै, वैशाख महिनाबाट पहिलो पटक दुरबिनबाट पत्थरीको अप्रेसन सेवा पनि सुरु गरिएको छ ।
सो अवसरमा अस्पताल प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ढुंगानाले नवजीवन अस्पतालको उद्देश्य नाफामुखीभन्दा पनि समाजसेवा रहेको जानकारी गराए ।
कार्यक्रममा अस्पतालका नर्सिङ ईञ्चार्ज लक्ष्मी चौधरी, ओटी इञ्चार्ज लक्ष्मण भट्ट र सूचीकार चन्द्रे दमाईलाई सम्मान गरियो ।
यस्तै, बिरामीहरूलाई फलफुलत समेत वितरण गरेका थिए । वार्षिकोत्सव समारोह आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।
नवजीवन अस्पताल प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्द, सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्णप्रसाद भूषाल, पद्मा अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रवीर चन्द लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । अस्पताल सञ्चालक समितिका सदस्य डाक्टर जयराम केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगिता ताम्राकारले गरेकी थिइन् ।
सो अस्पताल २०६२ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार