गिनिज बुकमा नाम लेखाउन धुनमा
धनगढी । कैलालीको सुखडस्थित सप्तश्री माविका शिक्षक भरत विष्ट र दुई विद्यार्थी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गर्ने धुनमा रहेका छन् ।
मङ्गलवार एक पत्रकार सम्मेलनमार्फत शिक्षक विष्टले आफूले दुई विधामा वल्र्ड रेकर्ड कायम गरिसकेको र अरू विधामा पनि विश्व रेकर्ड कायम गर्ने प्रयासमा रहेको छ । पत्रकार सम्मेलनमा उनले ५० वटा फिफा देशका नाम २३ सेकेण्डमा पढेर सुनाएका थिए ।
त्यस्तै, उनले गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि ५९ सेकेण्डमा ३७ पोटी लसुन खाएका थिए । उनले यसभन्दा पहिले एक मिनेटमा दुई हातले ४२ पोटी लसुन खाएर वल्र्ड रेकर्ड राखीसकेका छन् ।
उनले, आगामी वैशाखभित्र दुुई हातले सबैभन्दा छिटो लेख्ने, एक मिनेटमा २० सम्म अक्षर छिटो लेख्ने, एक मिनेटमा ८० जना व्यक्तिलाई अँगालो हाल्ने, डिजे साउण्ड नजिक एक मिनेटमा धेरै शब्दहरू स्मरण गर्ने लगायतका आठवटा विभिन्न विधामा रेकर्ड राख्ने लक्ष्य लिएको जानकारी दिए ।
कार्यक्रममा सो विद्यालयका विद्यार्थी आयुुष ऐरले अङ्ग्रेजी अक्षर जेड देखि ए सम्मका अक्षर चार सेकेण्डमा पछाडिबाट भनेका थिए । त्यस्तै, सोही स्कुलका विद्यार्थी नेहारिका बोहराले एक मिनेट तीन सकेण्डमा ए देखि जेड सम्मका अल्फावेटबाट जनावरहरूका नाम लेखेकी थिइन् । उनी पूर्व वल्र्ड रेकर्ड कीर्तिमानी हुन् । उनले यसभन्दा पहिले दुई मिनेटमा ७४ दाना अंगुर खाएर वल्र्ड रेकर्ड राखेकी थिइन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्ड तथा वल्र्ड रेकर्डका लागि विभिन्न प्रमाणहरू फोटाहरू भिडियो, समय साची बस्ने व्यक्तिहरू आवश्यकता पर्ने भएकाले पत्रकार सम्मेलनको आयोजना गरिएको विष्टले बताए ।
हालसम्म ३६ वटा वल्र्ड रेकर्डहरू र ११ गिनिज बुक अफ वल्र्ड रेकर्ड नेपालीहरूले राखिसकेका छन् ।