स्ववियु निर्वाचन : सबैका आ–आफ्नै जीतका दाबी
धनगढी । लामो समयपछि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा विभिन्न विद्यार्थी सङ्गठन तथा विद्यार्थी नेताहरू चुनावी परिणाम आफ्नै पक्षमा आउने दाबी गरिरहेका छन् ।
बुधवार देशभर हुने स्ववियु चुनाव आ–आफ्नो पक्षमा पार्नका लागि निक्कै मेहनत गरिरहेका विद्यार्थी नेताहरूले चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न निक्कै रस्साकस्सी गरिरहेका देखिन्छन् ।
विद्यार्थी मतदाताहरूलाई आफू तिर आकर्षण गर्न महत्त्कांक्षी योजनाहरूका साथ हरेक विद्यालय तथा क्याम्पसहरूमा दौड, धुप गरिरहेका विद्यार्थी नेताहरूले देखावटी रूपमै भए पनि चुनाव अगाडि आ–आफ्नो पक्षमा मत आउने दाबी गर्न थालेका हुन् ।
कैलाली बहुमुखी क्याम्पसमा नेपाल काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घका सभापतिका उम्मेदवार गुरुदेव केसी सुमनले नेविसंघ उत्कृष्ट विद्यार्थी संस्था भएको र सबैभन्दा पुरानो संस्था भएको हुँदा विद्यार्थीहरूले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरे । उनले विद्यार्थीहरूको चौतर्फी विकास स्वतन्त्र पठनपाठन पाउने अधिकार र समग्र शैक्षिक विकासका लागि नेविसंघ एक मात्र विद्यार्थी संस्था भएको हुँदा सबै विद्यार्थीहरूले आफ्नै पक्षमा मतदान गर्ने दाबी गरे । सभापतिका उम्मेदवार विद्यार्थीहरूलाई आईपर्ने हरेक चुनौतीमा नेविसंघले साथ दिने गरेको भन्दै उनले आफ्नै पक्षमा मत परिणाम आउने दोहोर्याए ।
यस्तै, अनेरास्ववियूका तर्फबाट स्ववियु चुनावका लागि उम्मेदवारी सभापतिमा उम्मेदवार दिएका विद्यार्थी नेता चुडामणि भट्टले विगतका वर्षहरूझै यस वर्षको स्ववियुको चुनावको मत परिणाम पनि अनेरास्ववियुकै पक्षमा आउने दाबी गरे ।
यस्तै, अखिल क्रान्तिकारी (प्रचण्ड पक्षधर) स्ववियु सभापतिका उम्मेदवार विद्यार्थी नेता घनश्याम भट्टले पनि आसन्न स्ववियु चुनावमा आफूले जित हासिल गर्ने दाबी गरे ।
सम्बन्धित समाचार
स्ववियू निर्वाचनका लागि कैलालीका १७ क्याम्पसमा उम्मेदवारी दर्ता