११ श्रावण २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन : के गर्ने भन्ने मै अलमलमा



टीकापुर  ।  स्थानीय तहको निर्वाचन घोषणा भएपछि निर्वाचनमा जाने नजाने विषयमा थारूहरू अलमलमा छन् । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भए पनि थारू मुद्दा सम्बोधन नभएकोले निर्वाचनमा जाने विषयमा थारूहरू अलमलमा परेका हुन् ।
थारूको मुद्दा सम्बोधन नभएको र पहिचानवादी अधिकांश शक्तिहरू आन्दोलनमा रहेकाले थारूहरू निर्वाचनमा जाने निर्णयमा पुग्न नसकेको थारू नेताहरूले बताएका छन् । सङ्घीय समाजवादी फोरमका स्थानीय नेता जनक चौधरीले भने– ‘हाम्रो पार्टी आन्दोलनमा छ । माथिकै निर्देशनानुसार हामी आन्दोलनमा छौँ ।’
थरुहट आन्दोलनका लागि हिजोका दिनमा विभिन्न दलमा आवद्ध थारू नेताहरूले थरुहट आन्दोलनमा समर्थन र सहभागिता जनाए पनि अहिले थरुहटको एजेन्डा उठान गर्ने माओवादी केन्द्रमा आवद्ध थारू नेताहरू निर्वाचनको विरुद्धमा लाग्न सक्ने स्थिति नरहेको थारू नेताहरू बताउँछन् ।


माओवादी केन्द्रमा आवद्ध एक थारू नेताले भने– ‘पार्टी केन्द्रमा चुनावको कुरा छ । यता आन्दोलनको कुरा छ । चुनावमा सहभागी हुन मनले मान्न सकिरहेको छैन । चुनावमा कसरी लाग्ने लाग्ने ।’
थरुहट आन्दोलनको माग सम्बोधन भइनसकेकोले सबै थारू नेताहरू बसेर छलफल भइनसकेकोले निर्वाचन बहिष्कार गर्ने कि सहभागी हुने भन्ने विषयमा निक्र्योल निकाल्न नसकिएको विभिन्न राजनीतिक दलमा आवद्ध स्थानीय स्तरमा रहेका थारू नेताहरूले बताएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका जनक चौधरीले भने– ‘अनौपचारिक रूपमा थारू नेताहरूसित छलफल चलिरहेको छ । थरुहट आन्दोलनको माग सम्बोधन नभएकोले अधिकांश चुनाव बहिष्कारकै पक्षमा हुनुहुन्छ ।’
कैलाली क्षेत्र नं १ बाट निर्वाचित सभासद् जनक चौधरीले मधेसी जनाधिकार फोरमको पार्टी निर्णय भइनसकेकोले निर्वाचनमा जाने नजाने विषयमा भन्न नसकिने बताए । उनले भने– ‘निर्वाचनमा जाने पार्टीको चाहना त हो । तर मुद्दा सम्बोधन नभइसकेकोले निर्वाचनको पूर्ण रूपमा स्वागत गर्न सकिएको छैन ।’
उनले भने– ‘स्थानीय स्तरमा थारूहरूको मनसाय दोहोरो रहेको पाइएको छ । मुद्दा सम्बोधन भएको भए सबैले सहर्ष स्वीकारेर निर्वाचनमा जान सक्ने अवस्था थियो । अहिले त्यो अवस्था नरहेकोले स्थानीय स्तरमा थारूहरूले निर्वाचन स्वीकार्न सकिरहेको अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार