११ श्रावण २०८१, शुक्रबार

अख्तियारमा उजुरीको सङ्ख्या बढ्दै



धनगढी  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार वर्षमा तीन हजार दुई सय ७५ उजुरी दर्ता भएका छन् ।
नियम विपरीत काम गरेको भन्दै अख्तियार कार्यालयमा विभिन्न निकायका गरी आर्थिक वर्ष ०७०/७१ देखि ०७३/७४ को माघ महिनासम्ममा तीन हजार दुई सय ७५ उजुरी दर्ता भएकोमा दुई हजार आठ सय ६३ उजुरी फछ्र्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जानकारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष ०७०/७१ मा सात सय ४९, ०७१/७२ मा एक हजार एक सय २९, ०७२/७३ मा नौ सय ५५ र ०७३/७४ को माघसम्म चार सय ४२ उजुरी दर्ता भएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्यालयमा चार वर्षको अवधिमा सबैभन्दा बढी महाकाली अञ्चलबाट उजुरी दर्ता भएको जनाइएको छ । महकाली अञ्चलमा एक हजार छ सय ७१ उजुरी र सेती अञ्चलबाट एक हजार पाँच सय ११ उजुरी दर्ता भएका छन् भने अन्य गरेर १३ उजुरी दर्ता भएको अख्तियार प्रमुख विष्णुसिंह विष्टले जानकारी दिए । अख्तियारमा दर्ता भएका महाकालीका कुल उजुरीमध्ये एक हजार चार सय ३२, सेतीका एक हजार चार सय १८ र अन्यका १३ वटा उजुरी फछ्र्यौट भएको उनले बताए ।
अख्तियार कार्यालयमा सबैभन्दा बढी कैलालीबाट उजुरी बढी रहेको जनाइएको छ । कार्यालयले दिएको जानकारी अनुसार कैलालीबाट नौ सय ३३, कञ्चनपुरबाट आठ सय तीन, बैतडीबाट चार सय दुई, डडेल्धुराबाट दुई सय ६४, डोटीबाट दुई सय ४७, दार्चुलाबाट दुई सय दुई, बझाङबाट एक सय ७४, अछामबाट एक सय ४७ र बाजुराबाट ९० उजुरी दर्ता भएको जनाइएको छ ।
कार्यालयमा दर्ता भएका कुल उजुरीमध्ये कैलालीबाट आठ सय १८, कञ्चनपुर सात सय १०, बैतडी तीन सय ३६, डडेल्धुरा दुई सय १५, डोटी दुई सय ३८, दार्चुला एक सय ७१, बझाग एक सय ४४, अछाम एक सय ३८ र बाजुराका ८० उजुरी फछ्र्यौट भइसकेको जनाइएको छ ।
अख्तियारमा गृह, श्रम तथा रोजगार, सहकारी तथा गरिबी, सङ्घीय मामिला तथा स्थानीय विकास, भूमिसुधार, लोकसेवा आयोग, भौतिक पूर्वाधार तथा शहरी डिभिजन, उद्योग, सिंचाई, ऊर्जा, अर्थ लगायतका गरी २२ वटा मन्त्रालयको उजुरी परेको जनाइएको छ ।
सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी बढी दर्ता भएका छन् । कार्यालयमा शिक्षाका एक हजार दुई सय ३५, सङ्घीय मामिला तथा स्थानीय विकासका चार सय ३५, वन तथा भू–संरक्षणका चार सय १३, स्वास्थ्य तथा जनसङ्ख्याका एक सय १३ उजुरी दर्ता भएका छन् ।
अख्तियारमा सबैभन्दा कम श्रम तथा रोजगार र लोक सेवा आयोगका दुई/दुई, सूचना तथा सञ्चारका तीन, शान्ति तथा पूनर्निर्माणका चार, महिला तथा समाज कल्याणका सात, युवा तथा खेलकुदका १० उजुरी दर्ता भएका छन् ।
अख्तियारमा बढी जस्ता भौतिक निर्माणमा अनियमितता, आर्थिक हिनामिना लगायतका गरी उजुरी आउने गरेको अख्तियार प्रमुख विष्णुसिंह विष्टले बताए । उनले शिक्षाका सबैभन्दा भौतिक निर्माणमा अनियमितता, अदक्ष शिक्षक नियुक्ति, व्यवस्थापन समिति अयोग्य अध्यक्ष चयन गर्नु लगायतका विषयमा उजुरी आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार