१२ श्रावण २०८१, शनिबार

सोमबार पनि स्वास्थ्य संस्था ठप्प



धनगढी  ।  कैलालीका सरकारी स्वास्थ्य संस्थाहरू सोमबार पनि ठप्प बनेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण दिनभर कैलालीका सरकारी स्वास्थ्य संस्था र अस्पतालहरू ठप्प भएका हुन् ।
स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माग राख्दै स्वास्थ्यकर्मीहरूले सरकारी स्वास्थ्य संस्था र अस्पतालमा दिनभर धर्ना दिनुका साथै सोमबार जिल्ला जनस्वास्थ्य कार्यालयदेखि प्रशासन र प्रशासनदेखि लक्ष्मीनारायण चौकसम्म पर्चा, पम्पलेट सहित नाराजुलुस गरेका थिए ।
स्वास्थ्यकर्मीहरूले गरेको आन्दोलनका कारण सोमबार पनि जिल्ला जनस्वास्थ्य कार्यालयमा कुनै काम भएन । जिल्ला जनस्वास्थ्य कार्यालय खुल्ला गरिए पनि गेटमा धर्ना दिएका कारण कर्मचारीहरू कोही थिएनन् ।
नेपाल स्वास्थ्यकर्मी संघ, कैलालीका सचिव लक्ष्मीराज उपाध्याय, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल अध्यक्ष ईश्वरीप्रसाद भुसाल, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन अध्यक्ष बलबहादुर रावल, स्वास्थ्यकर्मी युनियन नेपाल वेदबहादुर चौधरी, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन करीसिंह भुल, नेपाल स्वास्थ्यकर्मी युनियन अध्यक्ष मीनबहादुर धामीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा अनश्चितकालीन जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्यको कामकाज ठप्प गर्ने र धर्नामा बस्ने, प्रत्येक दिन कोण सभा प्लेकार्ड सहित जुलुश प्रदर्शन गर्ने, जिल्लास्थित पेशागत संघ संगठन, राजनीतिक दलसंग समन्वय गर्ने र स्वास्थ्य सेवा दिवस वहिष्कार गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार