मानवीय गतिविधिका कारण राष्ट्रिय पन्छी डाँफेले आफ्नो आवाज परिवर्तन गर्दैछ – अनुसन्धान रिपोर्ट
मानवीय गतिविधिमा भएको तीव्र वृद्धिका कारण हिमाली क्षेत्रमा पाइने एउटा पन्छीको जीवनशैली र सञ्चार प्रक्रियामा गहिरो प्रभाव परिरहेको भारतीय अनुसन्धानकर्ताहरूका दुईवटा अध्ययनले देखाएको छ ।
हिमाली जङ्गलहरूमा रैथाने रूपमा पाइने यो पन्छी – डाँफे – यस क्षेत्रको संस्कृति, लोककथा र पहिचानसँग गहिरो रूपमा जोडिएको छ । हरियो, निलो र तामा रङका आकर्षक प्वाँखहरू हुने डाँफे नेपालको राष्ट्रिय पन्छी र भारतको उत्तराखण्ड राज्यको राज्य पन्छी हो । यसले सम्पूर्ण हिमालय क्षेत्रमा यसको सांस्कृतिक महत्त्वलाई झल्काउँछ ।
तर, पूर्वाधार विकास र पर्यटनका कारण यसको वासस्थान खुम्चिँदै गएको र बढ्दो कोलाहलले यसले आफ्ना सम्भावित जोडी तथा प्रतिद्वन्द्वीहरूसँग गर्ने सञ्चारको तरिकालाई परिवर्तन गरिरहेको अध्ययनहरूले देखाएका छन् ।
उत्तराखण्डका अनुसन्धानकर्ताहरूले पाँच वर्षको अवधिमा गरेका दुईवटा छुट्टाछुट्टै अध्ययनले डाँफे माथि आइपरेका मुख्य खतराहरूलाई उजागर गरेका हुन् ।
एउटा अध्ययनका अनुसार, ठुला रुख उम्रने रेखा (ट्री लाइन) भन्दा माथिका अल्पाइन घाँसे मैदानहरूमा भीडभाड बढेपछि यी पन्छीहरू पहाडको अझ बढी उचाइतर्फ जान बाध्य भइरहेका छन् । अर्को अध्ययनले भने व्यस्त उपत्यकाहरूमा मानवीय कोलाहललाई चिर्नका लागि डाँफेले आफ्नो बोलीको तिखोपन (पिच) परिवर्तन गरिरहेको देखाएको छ ।
हिमालयको पारिस्थितिकी र जलवायु मुद्दाहरूमा काम गर्ने पर्यावरणविद् विशाल सिंह भन्छन्, “यी दुई अध्ययनहरूले अन्य अझ बढी संवेदनशील प्रजातिहरूका लागि एउटा गम्भीर चेतावनी दिएका छन् कि यदि डाँफे जस्तो चराले आफ्नो आवाज र बस्ने ठेगाना दुवै परिवर्तन गर्नुपरेको छ भने, योभन्दा कमजोर प्रजातिहरूले यसलाई कसरी सामना गरिरहेका होलान् ?”
दुवै अध्ययनका मुख्य अनुसन्धानकर्ता डा. राजीव लोचनले बीबीसीलाई बताएअनुसार, उनीहरूले डाँफेलाई अध्ययनका लागि छनोट गर्नुको कारण यसको वासस्थानको दायरा निकै साँघुरो हुनु हो । यो पन्छी मौसम अनुसार पहाडको तल्लो क्षेत्र र उच्च उचाइमा पर्ने ‘अल्पाइन जोन’ बीच आउजाउ गर्ने गर्दछ । डा. लोचनका अनुसार, यही विशेषताले गर्दा यो पन्छी उत्तर-पश्चिमी हिमालयको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) को स्वास्थ्य मापन गर्ने एक प्रमुख सूचक बनेको छ ।
“यदि यस क्षेत्रमा यो प्रजातिले समस्या भोगिरहेको छ भने, पारिस्थितिकीय गडबडीले पक्कै पनि अन्य चराचुरुङ्गीहरूलाई पनि असर गरिरहेको हुनसक्छ,” लोचनले भने ।
अनुसन्धानकर्ताहरूका अनुसार, अव्यवस्थित पर्यटन र तीव्र सहरीकरणका कारण विनाशको सङ्घारमा पुगेको संवेदनशील हिमाली इकोसिस्टमको समग्र अवस्था बुझ्न डाँफेलाई एक ‘प्रनितिधि’ का रूपमा हेर्न सकिन्छ ।
यस क्षेत्रको मनोरम दृश्य र जैविक विविधताका कारण पर्यटक, ट्रेकर्स र अनुसन्धानकर्ताहरू सधैं आकर्षित हुने गरे पनि विगत एक दशकमा भएको द्रुत पूर्वाधार विस्तारले धेरै ठाउँहरूमा पहुँच सहज बनाएको छ । यसले मानिसहरूको आवतजावत बढाउनुका साथै वन्यजन्तुलाई बाधा पुर्याइरहेको छ । बढ्दो मानवीय दबाबका साथै जलवायु परिवर्तन पनि यस क्षेत्रको पहिलेदेखि नै संकटमा रहेको जैविक विविधताका लागि अर्को ठूलो खतराका रूपमा देखा परिरहेको छ ।
सिंहले भने, “यहाँ धेरै कारकहरूले भूमिका खेलिरहेका छन्, तर वृहत् स्तरमा भन्नुपर्दा समस्या के हो भने यस क्षेत्रको आर्थिक विकास यहाँको पारिस्थितिकीय अखण्डता (इकोलोजिकल इन्टेग्रिटी) सँग मेल खाइरहेको छैन ।”
पहिलो अध्ययनका अनुसार, विभिन्न जलवायु परिदृश्यहरू अन्तर्गत सन् २१०० सम्ममा हिमालय क्षेत्रमा हिमालियन डाँफेको उपयुक्त वासस्थान निरन्तर खुम्चिने र अस्थिर बन्ने प्रक्षेपण गरिएको छ ।
हाल यी पन्छीहरू जङ्गलभन्दा माथि पहाडको उच्च भागमा रहेका अल्पाइन घाँसे मैदानहरूमा पाइन्छन्, जुन हिमालयको सबैभन्दा महत्त्वपूर्ण मौसमी चरन र जैविक विविधताले भरिपूर्ण वासस्थानमध्ये एक हो ।
अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनले भारतको उत्तराखण्ड र हिमाचल प्रदेश राज्यका हिमाली क्षेत्रहरूमा डाँफेको उपयुक्त वासस्थानलाई कसरी स्थानान्तरण गर्न सक्छ भन्ने कुराको नमुना तयार पारेका थिए । यो अध्ययन संयुक्त राष्ट्र संघको जलवायु विज्ञान एकाइ (IPCC) ले मूल्याङ्कनका लागि प्रयोग गर्ने विश्वव्यापी जलवायु मोडेल र उत्सर्जन परिदृश्यहरूमा आधारित थियो ।
साभार : बिबिसी




