११ श्रावण २०८१, शुक्रबार

बाढी पीडितले भने– खाद्यअधिकार सुरक्षित गर



धनगढी  ।  कैलालीको भजनी–त्रिशक्ति नगरपालिका वडा नम्बर ४ र ५ का बाढीपीडितले खाद्यअधिकार संरक्षण गर्न माग गरेका छन् ।
गत साउन ६ गते काँडा नदीमा आएको बाढीबाट खेती योग्य जमिन गुमाउन पुगेका बाढी पीडितले नदीमा पक्की तटबन्ध निर्माण गर्न पनि माग गरेका छन् ।
याक नेपाल, कैलालीको सहयोगमा सोमबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बाढीपीडित संघर्ष समितिका सदस्य छविलाल पोख्रेलले साउन ६ गतेको बाढीका कारण क्षती भएको बालीको क्षतीपूर्ति दिनुपर्ने बताए ।
सो अवसरमा प्रस्तुत गरिएको प्रेस विज्ञप्तिमा काँडा नदीमा आएको बाढीबाट जोगिनका लागि काँडा गाउँदेखि हुलाकी मार्गसम्म दुवै किनारमा बाटोसहितको पक्की चेकड्याम निर्माण गर्नुपर्ने उल्लेख छ । त्यस्तै, सो नदीमा ‘जनताको तटबन्ध’ कार्यक्रम लागू गर्न पनि माग गरिएको छ ।
संघर्ष समितिका अनुसार साउन ६ गतेको काँडा नदीको बाढीले ती दुई वडाका धुसी, पकरियापुर, सिमलचौक, विपिनगर, बर्दवाफाँटा, र्‍याप्ती, परहरिया, ठेकी, जवलपुर, कुसुमघाट, कन्हैयापुर लगायतका गाउँका एक हजार तीन सय ७२ घरधुरी प्रभावित भएका छन् ।
सो नदीमा २०५५ र ०६१ सालमा पनि ठूलो बाढी आएकोमा गत साउन ६ गतेको बाढीका कारण ती परिवारका करिब दुई हजार बिघा खेती योग्य जमिनको धानबाली पूर्ण रूपमा नष्ट भएको बाढीपीडितहरूले बताए ।
‘बाढीबाट करिब दुई हजार बिघा जमिनमा बालुवा पटान भएको छ’ संघर्ष समितिका सदस्य पोख्रेलले भने– ‘करिब एक सय बिघा जमिनमा हिउदे बाली पनि लगाउन पाइएन ।’
बाढी पीडितहरूले सो नदी नियन्त्रणका लागि नगरपालिका, लगायतका निकायमा आग्रह गरिएको र पछिल्लो पटक सिंचाई मन्त्रालयमा समेत अनुरोध गरिएको बताए ।
याक नेपालका कार्यकारी निर्देशक डबल बमले अहिले सो स्थानमा करिब पाँच सय मिटर जती मात्रै तटबन्ध गर्नुपर्ने बताए । ‘तर यो समस्यालाई समयमै समाधान गरिएन भने भविष्यमा हजारौंं परिवार नै विस्थापित हुने अवस्था आउनसक्ने हाम्रो अध्ययनले देखाएको छ’ कार्यकारी निर्देशक बमले भने– ‘बाढीबाट भएको क्षतिबाट हजारौं जनताको खाद्यअधिकार समेत हनन् भको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार