२३ बैशाख २०८१, आईतवार

नाष्टका विद्यार्थी पुनर्निर्माणमा खटिने



धनगढी  ।  धनगढी इन्जिनियरिङ कलेजका विद्यार्थीहरू भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण कार्यमा खटिने भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णयअनुसार देशभरिका इन्जिनियरिङ कलेजका विद्यार्थीलाई पुनर्निर्माणमा खटाउने जनाइएको छ । धनगढी इन्जिनियरिङ कलेजबाट ४५ जना विद्यार्थी खटिने जनाइएको छ ।
धनगढी इन्जिनियरिङ कलेजमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई बिहीबारदेखि भूकम्प प्रतिरोधात्मक भवन निर्माण विधिबारे सात दिने तालिम समेत सुरु भएको छ ।
विद्यार्थीहरूको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रमा नाष्ट कलेजका प्राचार्य शिवहरी शर्मा मुडभरीले सुदूरपश्चिमबाट राष्ट्र निर्माणका लागि आवश्यक जनशक्ति उत्पादनमा नाष्टको योगदानको चर्चा गरे ।
विद्यार्थीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट सम्बन्धित योजनाका राष्ट्रिय कार्यक्रम संयोजक इन्जिनियर जनकराज जोशी, नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य नविनचन्द्र जोशी र कार्यक्रम संयोजक लव जोशीले प्रशिक्षण दिइरहेका छन् ।
सो अवसरमा इन्जिनियर जोशीले प्राधिकरणको आग्रह बमोजिम पोखरा विश्वविद्यालयले विद्यार्थीहरूलाई स्वयंसेवकका रूपमा खटाउने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार