७ बैशाख २०८१, शुक्रबार

होमस्टेमा चरा महोत्सव



कैलाली  ।  कैलालीको घोडाघोडी नगरपालिका—१०, माघी होमस्टेमा पहिलो पटक चरा महोत्सव भएको छ ।
स्थानीय स्तरमा चरा संरक्षणबारे सचेतना फैलाउन चरा अवलोकन गन्तव्यको रूपमा विकास हुँदै गएको रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रमा चरा महोत्सवको आयोजना गरिएको जनाइएको छ ।
नेपाल पंक्षी संरक्षण सङ्घ र चरा संरक्षण नेटवर्कले संयुक्त रूपमा चरा महोत्सवको आयोजना गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको चरा महोत्सवमा चरा संरक्षणको क्षेत्रमा कार्यरत विभिन्न जिल्लाका संरक्षणकमीहरूबीच अनुभवआदानप्रदान, सामूहिक रूपमा चरा अवलोकन, रणनीति तयार लगायतका कार्यक्रम भएको नेपाल पंक्षी संरक्षण सङ्घका निर्देशक इशाना थापाले जानकारी दिइन् ।
सबैलाई सहभागी गराएर सञ्चालन भएको महोत्सव नेपालमै पहिलो भएको बताउँदै निर्देशक थापाले भविष्यमा एसिया स्तरको कार्यक्रम गर्न आयोजित महोत्सवले थप बल पुग्ने विश्वास व्यक्त गरिन् ।
चरा अवलोकन पर्यटनको प्रचूर सम्भावना बोकेको घोडाघोडी ताल क्षेत्रमा दुई सय २६ प्रजातिका चरा पाइने नेपाल पंक्षी संरक्षण सङ्घका सुदूरपश्चिम संयोजक हिरुलाल डंगौराले बताए ।
महोत्सवको एक कार्यक्रमबिच सांसद ईश्वरी न्यौपानेले महोत्सवको उद्घाटन गरेकी थिइन् । चरा संरक्षण नेटवर्कका अध्यक्ष डिआर चौधरीको अध्यक्षमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार