१४ बैशाख २०८१, शुक्रबार

गर्लफ्रेन्डका लागि चन्द्रमामा घडेरी



एउटा अनाथ बालक जो आफ्नै पौरख र कडा संघर्षबाट रुसकै सर्वाधिक शक्तिशाली कुलीन वर्गमा दरिए । सुन्दा आश्चर्य लाग्न सक्छ । तर, ४९ वर्षीय रोमन अब्रामोभिच सानै उमेरमा अनाथ भएर पनि अर्बपति बनेका छन् । लिथुआनियामा यहुदी आमाबुबा इरिना र अर्काडीबाट जन्मेको उनी चार वर्षका छँदा टुहुरो भए । हजुरबुबा र हजुरआमा पर्नेले उनको पालनपोषण गरे । हुर्कंदै स्कुले शिक्षा त जसोतसो पूरा गरे उनले । कलेजमा भने पढ्न पाएनन् । दुई पटकसम्म भर्ना भएर पनि ड्रपआउट गरे ।
मस्कोमा तत्कालीन राष्ट्रपति बोरिस येल्सीनका सहयोगी बोरिस बेरेजोभ्स्कीको दाहिने हात बन्नुअघि उनले सेनामा जागिरसमेत गरे । तत्कालीन सोभियत संघको औद्योगिक सम्पत्तिमा बेरेजोभ्स्कीको बलियो पकड थियो । त्यसअघि अब्रामोभिचले आफ्नो गुजारा गर्न मस्कोस्थित एक अपार्टमेन्टमा प्लास्टिक डक्स बेच्ने गर्थे । त्यसबाट भएको आम्दानी सञ्चय गर्दै केही वर्षभित्रै उनले आफ्नै विभिन्न तेल सँगठन र सुँगुर फार्म खोले । तेलकै कारोबार गर्ने क्रममा बेरेजोभ्स्कीको नियन्त्रणमा रहेको रुसकै सबैभन्दा ठूलो तेल कम्पनी सिबनेफ्टकामा भएको ठगीमा अनुसन्धान हुँदा उनलाई दोषी पाइएपछि २००१ मा बेलायतमा शरण लिनुपर्‍यो । त्यसपछि उनको भाग्य झनै चम्कियो । बेरेजोभ्स्की लन्डन गएपछि अब्रामोभिचको प्रभाव बढ्दै गयो, उनी तत्कालीन राष्ट्रपतिका ‘इनर सर्कल’ मा जोडिन पुगे । पावर नजिक पुगेपछि उनी शक्तिशाली पनि बन्दै गए ।
सिबनेफ्टको कारोबार आफ्नो हातमा आएपछि उनको व्यापार र आम्दानी बढ्दै गयो । अन्य रसियन कम्पनीसँग गरेको सम्झौतापछि उनीसँग १ दशमलव ८ अर्ब पाउन्डको सम्पत्ति पुग्यो । अन्तर्राष्ट्रिय फुटबलका एक फ्लोअरसमेत रहेका उनको आफ्नै आइस हकी टिम थियो । सन् १९९९ मा भ्लादिमिर पुटिन रुसको प्रधानमन्त्री र त्यसको एक वर्षपछि राष्ट्रपति बनेपछि, अब्रामोभिच राजनीतिमा प्रवेश गरे । त्यसपछि त झनै प्रभावशाली बने । सत्ताको निकट हुँदै उनले व्यापार र राजनीति सँगसँगै लग्न खोज । पछि उनी चेल्सी फुटबल क्लबका मालिक बने ।
अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार उनको कुल सम्पत्ति ८ दशमलव ४ अर्ब अमेरिकी डलर (रियल टाइम २१ अक्टोबर ०१६) रहेको छ । ९० दशकताकाका सुरुमा शृंखलाबद्ध विवादास्पद तेल आयात सम्झौतापछि सम्पत्ति जोडेका अब्रामोभिच यो वर्ष फोब्र्सको विश्वका अर्बपति सूचीमा १५१ औं र रुसमा १३ औं स्थानमा छन् । हाल धरातलीय वास्तविकताबाट निकै माथि उठिसकेका उनी आफ्ना साथीहरूका लागि बेलाबेलामा आयोजना गर्ने पार्टीहरूमा एकै रातमा करोडौं रुपैयाँ खर्च गर्ने हैसियतमा पुगेका छन् ।
संसारकै सबैभन्दा महँगा जहाजका मालिकसमेत उनी बनिसकेका छन् । दुबईको क्षेत्रफलभन्दा ठूलो आकारको उक्त जहाज उनले अर्बौं रुपैयाँमा खरिद गरे । सबै विलासिता सेवाहरू पाइने ‘एक्लिप्स’ नामक जहाजमा ११ वटा गेस्ट क्याबिन छन्, जसमा ६ फुटको सिनेमा स्क्रिन जडान गरिएका छन् । स्विमिङ पुल, डिस्को हल, हेलिप्याडसमेत त्यसमा छ । बुलेटफ्रुफ ग्लास र मिसाइल डिटेक्टरसमेत जडान गरिएको यो जहाज सुरक्षाको दृष्टिले सबैभन्दा सुरक्षित मानिन्छ । यति मात्रै होइन जहाजमा तीन वटा लन्च बोट्स र पानीभित्र घुम्नका लागि मिनी सबमरिनले पनि राखिएका छन् ।
स्पोट्र्स कार र विलासी कारका सौखिन अब्रामोभिचसँग फरारी एफएक्सएक्स, मेबीच ६२ लेम्बोर्गिनी, बुगाटी भेभरोन, मर्सडिज बेन्ज सिएलएक्स, जीटीआर, फरारी ३६०, पोर्से र रोयलस्ल क्रोनिकलजस्ता कार पनि छन् । उनीसँग बोइङ एयरक्राफ्टसँगै कयौं हेलिकप्टर पनि रहेको छन् ।
फुर्सदमा घुम्नका लागि यसको प्रयोग उनी गर्छन् । रेयर आर्ट कलेक्टरसमेत रहेका अब्रामोभिचसँग पाब्लो पिकासो, फ्रांसी बेकोनलगायतका ऐतिहासिक पेन्टर्सको आर्टवर्क संग्रहित छन् । यी आर्टवर्कलाई सुरक्षित राख्न उनले रुसको तीन सय वर्ष पुरानो आइल्यान्ड ४० अर्ब रुपैयाँभन्दा बढीमा खरिद गरेका थिए । उनीसँग विश्वभरमा ६ भन्दा बढी लग्जरियस प्रोपर्टी छन् । यसका लागि उनी विश्वमै चर्चित छन् ।
तेलबाट व्यापार बढेसँगै उनको रुचि पनि बढदै गयो । अब्रामोभिचको विलासी जीवन र खुलेर रकम खर्च गर्ने बानी यतिमै सीमित छैन । उनले तीन श्रीमती भित्र्याइसके । सम्बन्ध विच्छेदपछि अर्को विवाहमा बाँधिने गरेका थिए । केही वर्षअघि उनले स्पेनिस गर्लफ्रेन्डका लागि चन्द्रमा सय एकड जमिन खरिद गरेका थिए । ‘बिजनेस इन्साइडर’ अनलाइनका अनुसार अब्रामोभिचले २००८ मा तत्कालीन मोडेल गर्लफ्रेन्ड डारिया झुकुभाका लागि चन्द्रमा जग्गा खरिद गरेका हुन् ।
मिलहाउस एलएलसी कम्पनीका मालिक, विभिन्न कम्पनीका लगानीकर्ता, राजनीतिज्ञ र एक सफल उद्यमीसमेत रहेका उनले आफूसँग रिसाएकी महिला साथीलाई फकाउन चन्द्रमामा उनकै लागि घडेरी जोडिदिए । अन्तरिक्षमा जमिनको कारोबार गर्ने ‘द लुनार एम्बेसी’ मार्फत उनले जग्गा किनेका थिए । उनका सात सन्तान छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार