१७ बैशाख २०८१, सोमबार

उत्कृष्ट खाना बनाउने प्रतियोगितामा भाग लिदै नेपाली



युरोप/ युरोपको माल्टामा हुन लागेको उत्कृष्ट खाना बनाउने प्रतियोगितामा एक नेपालीले भाग लिने भएका छन् । माल्टा सेफ सोसाईटीले अप्रिल १२ तारिखदेखि १४ तारिख तीन दिनसम्म माल्टामा आयोजना गर्न लागेको उत्कृष्ट खाना बनाउने प्रतियोगितामा नेपालका तर्फबाट भेषबहादुर रानाले भाग लिने भएका हुन् ।

प्रतियोगितामा करिब तीन सय होटेल तथा रेष्टुरेन्टले भाग लिने आयोजकले बताएको छ । माल्टामा रहेको द एक्स प्यालेस होटेलमा जुनिएर सेफको रुपमा काम गर्दै आएका रानाले आफूले काम गर्ने होटेलको प्रतिधित्व गर्दै नेपाली तथा एशियन खाना बनाई नेपाललाई चिनाउने काम प्रतियोगितामा गर्ने बताए ।

२०१६ मा भएको उत्कृष्ट खाना बनाउने प्रतियोगितामा नेपालको प्रतिनिधत्व गर्दै नेपाली तथा एशियन उत्कृष्ट खाना बनाई नेपालको गुल्मी घर भएका बाबु अर्यालले उपाधी जितेको रानाले बताए । उपाधी जितेका तीनै बाबु अर्याल सरले काम गर्ने द एक्स प्यालेस होटेलमा आफू काम गर्दै आएको र सिनिएर सेफ अर्यालको हौसला सहयोग र सल्लाह राम्रो पाएकोले यसपटकको उपाधी पनि आफूले जित्ने गरी तयारी गरेर रहेको उनले बताए ।

नेपाली खानाको परिकारलाई विश्वमा चिनाउन स्थापना भएको अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका सहसंयोजक समेत रहेका अर्यालले भोलिदेखि तीन दिनसम्म संचालन हुने उत्कृष्ट खाना बनाउने प्रतियोगितामा भाग लिने राना अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाको सदस्य रहेको बताए ।

प्रतियोगितामा नेपाली खाना सहित यशियन खाना समेत प्रदशन गर्ने भएकाले युरोपमा नेपाली खाना मार्फत नेपाललाई चिनाउन सकिने अर्याल बताउछन् । उनले भने, “द एक्स प्यालेस होटेलकै प्रतिनिधत्व गर्दै मिठाइको परिकार बनाउनको लागि भारतीय नागरिक जयमन जस्मनले पनि प्रतियोगितामा भाग लिदैछन् ।” प्रतियोगितामा भागलिने दुबै जनालाई उनले सफलताको शुभकामना समेत दिएका छन् ।

नेपाली खानालाई विदेशमा प्रवद्धन गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस्ता रचनात्मक कामले आफ्नो देशप्रतिको माया जागेर आउने गरेको अनुभव अर्यालले सुनाए । हामी विदेशमा रहेका सबै नेपालीहरु देशलाई मुटुमा राखेर काम गरी रहेका र्छौ र विदेशमा नेपाललाई चिनाउन गतिबिधि गर्दै आएको उनले बताए ।

सामाजिक कार्यमा सक्रिय रहेर काम गर्दै आएका अर्याल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्ष भएर सफल कार्यकाल सम्हाली सकेका छन् । हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकार समेत रहेका अर्याल भर्खरै सम्पन्न भएको प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले बाबु अर्यालको भूमिका माल्टामा धेरै राम्रो रहेको बताए । सरल र मिजासिलो उहाँको व्यवहार र सामाजिक कामले अर्याल माल्टामा लोकप्रिय बन्दै गएको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार