१९ बैशाख २०८१, बुधबार

मुख्यमन्त्री कपः प्रचारप्रसार उपसमिति गठन



धनगढी । धनगढीमा हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि नौ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुनबहादुर शाहको संयोजकत्वमा शुक्रबार सो उपसमिति गठन गरिएको हो ।
गठित उपसमितिको सहसंयोजकमा हरिश बिक तथा सदस्यहरुमा मीन ठकुरी, भरत शाह, शिवराज भट्ट, हरि जोशी, भोजराज जोशी, भानुभक्त आचार्य र दीपक ओली रहेका छन् ।
यही फागुन २९ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्र्तगत महिला र पुरुषतर्फको खेल हुनेछ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुनेछ ।
खेलाडी, अफिसियल र प्रशिक्षक गरी ६ सय ४४ जना सहभागि हुने यो प्रतियोगितामा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता पनि रहने आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै, उपविजेतालाई आठ लाख र तृतीयलाई पाँच लाख पुरस्कार दिइने भने प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
संघात्मक शासन व्यवस्थापछि सुदूरपश्चिम प्रदेश सरकारले खेल मार्फत् सुदूरपश्चिमको पर्यटन विकासका लागि पहिलो पटक मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार