७ जेष्ठ २०८१, सोमबार

नेपाल–चीनबीचओट घाँस र दाना निर्यात सम्झौतामा हस्ताक्षर



काठमाडौं/ नेपाल र चिनियाँ व्यवसायीबीच १७औँ चीन तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेलाको अवसरमा सोमबार काठमाडौंमा नेपालबाट चीनमा ओटा घाँस र दाना निर्यात गर्ने सम्झौता भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा चिनियाँ राजदूत चेन सोङ, चितवन महानगरपालिकाकी मेयर रेणु दाहाल, नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठलगायतको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले डिसेम्बर २०२३ मा स्वायत्त क्षेत्रको कृषि र ग्रामीण मामिला विभागबाट व्यापार निर्देशनहरू प्राप्त गरेको थियो ।

याक उद्योगको विकासलाई गति दिन र जाडोमा याक मोटोपनको समस्या समाधान गर्न, चिनियाँ कम्पनीले सन् २०२४ जनवरीदेखि नेपालमा ओट घाँस रोप्ने प्रविधि र खरिद गर्ने उद्देश्यका बारेमा अनुसन्धान र छलफल गर्न थालेको छ ।

हाल रोपाइँ राम्रोसँग भइरहेको छ र नेपाली कृषि कम्पनीहरू चिनियाँ आयातका आवश्यकताहरू पूरा गर्न इच्छुक भएपछि सो सम्झौता गरिएको हो ।

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनले नेपालबाट ओट ग्रास र दाना आयात गरेकोले यसबाट नेपालको वैदेशिक व्यापार घाटा घटाउन सहयोग पुग्ने बताए । उनले भने हाम्रो व्यापार घाटा कम हुने छ, चीनले पनि दाना र घाँसबाट लाभ लिने छ ।

मन्त्री श्रेष्ठले नेपालबाट ओट ग्रास आयात गर्ने सम्झौतालाई आर्थिक सहयोग र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा कोसेढुङ्गा भएको विश्वास व्यक्त गरे ।

आफूले हालै परराष्ट्रमन्त्रीको हैसियतमा चीन भ्रमण गरेको प्रसंग उल्लेख गर्दे उनले चीनले नेपाली नागरिकका लागि भिसामुक्त प्रवेशको घोषणा गरेको छ, जुन नेपालप्रति चीनको सद्भावना हो भनेका थिए ।

उनले सोही भ्रमणको नेपाल र चीनबीचका १४ वटै व्यापारिक नाकाहरू चीनले खोल्ने र सञ्चालन गर्न गरेको आग्रह चीनले मानेकोले चाँडै नाका खुल्ने पनि बताए ।

मन्त्री श्रेष्ठले सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि रहेको र यो लक्ष्य हासिल गर्न नेपाललाई चिनियाँ सहयोगले सहयोग पुग्ने बताए ।

उनले चीन धेरै अघिदेखि नेपाललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दे प्रविधि हस्तान्रण र विभिन्न क्षेत्रमा चनिको लगानी आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार