२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले भने यो वामपन्थी एकताको सरकार होइन त्यो अहिले सम्भव छैन



धनगढी/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समकीकरण वामपन्थीको मात्र भनेर नगरेको बताएका छन् ।

धनगढी विमानस्थलमा आयोति पत्रकार सम्मेलनमा बोल्दै उनले भने अहिले वामपन्थी एकता भन्नु पनि ठिक होइन । भोली राम्रै काम हुँदै गयो समझदारी भयो भने वामपन्थी एकता पनि होला तर अहिले वामपन्थी एकता होइन राजनीतिक सत्ता समीकरण हो भन्न मात्रै मिल्छ ।

उनले फरक प्रसंगमा अहिलेको सत्ता समीकरण पूरै समयावधी चल्ने दावी पनि गरे । अहिले सत्ता समीकरण बारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि उनले आग्रह गरे ।

प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकोले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने विश्वास उनले गरे । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा नयाँ सरकार गठनको काम पनि चाँडै सकिने संकेत पनि गरे ।

विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले बैज्ञानिक र जनमैत्री आउने विश्वास पनि उनले गरे ।

उनले सरकार लगानी सम्मेलनको तयारीमा जुटेको बताउदै लगानी मैत्री वातावरणका लागि एक दर्जन ऐन अध्यादेशबाट परिवर्तन गर्ने तयारी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकार जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राखेर पहाडी मुलुकहरु सहभागी हुने पर्वतीय सम्मेलनको तयारीमा रहेको पनि जानकारी गराए ।

नेपालमा पहिलो पटक कतारका राजा अमिर नेपाल आउन थालेकोमा खुसी प्रकट गर्दे उनले भने मंगलबार आउने राजाको स्वागतका लागि अन्तिम तयारी भइरहेको छ ।

उनी कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्वोधन गर्न धनगढी आएका हुन ।

प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश प्रमुख नजिर मिया, नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी, नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज गिरिराजमणी पोख्रेल, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत धनगढी विमानस्थल पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार