१७ बैशाख २०८१, सोमबार

घनश्यामलाई हटाइएर कैलाश बने दलको नेता



धनगढी/ नागरिक उन्मुक्ती पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेशमलाल चौधरी पक्षिय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कार्वाही गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाहीमा गरेको पत्र सार्वजनिक सोमबार सार्वजनिक भएको छ।

घनश्यामलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी दलको नेताको जिम्मेवारी दिइएको छ। सो पत्रमा प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको उल्लेख छ । घनश्यामले दलको निर्देशन नमानेकोले परिवर्तन गरिएको सो उल्लेख छ ।

दलका नेता बनेका कैलास चौधरी

दलको नेताको जिम्मेवारी सम्वन्धी सो पत्रमा अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैंमा निहित रहेको समेत उल्लेख गरेकी छन् ।

दलका नेताबाट हटाइएका घनश्याम चौधरी कांग्रेसबाट मुख्यमन्त्री बन्नु भएका कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री समेत हुन। अर्को सरकार नबनेकोले मुख्यमन्त्री शाह नेतृत्वको सरकार अहिले कामचलाउ छ ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। जसमा ५ जना रेशम पक्षमा र २ जना रञ्जिताको पक्षमा उभिएका छन्। एकजना समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई सो पदबाट हटाइएपछि अब सो दलको प्रदेश सभा सदस्य संख्या ६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार