१४ बैशाख २०८१, शुक्रबार

सम्पादकीय: तस्करीको हब बन्दै



कैलालीमा पछिल्लो समयमा अवैध रुपमा सुन कारोबार, तस्करीका घटना दोहोरिएका छन् । बिहीबार मात्रै कैलालीको चिसापानीमा दुई किलोग्राम भन्दा बढी सुन तथा चा“दीका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि ठूलो परिमाणमा अवैध सुन बरामद भएको थियो । यी दुई घटनाले मात्रै पनि कैलालीमा पछिल्लो दिनमा सुनको अवैेध कारोबार तथा तस्करी जालो बृद्धि भएको संकेत गरेको छ । त्यसै पनि कैलालीका केही स्थान तस्करी सहित गलत धन्धाका लागि चर्चित रहेका छन् । भारतबाट भन्सार छलेर अवैध रुपमा व्यापारिक सामान भित्राउने कार्य त सामान्य झैं भइसकेको छ । एक सय किलोमिटर भन्दा बढी खुला सिमानाका कारण विभिन्न सिमानाका हुदै भारतबाट दैनिक ठूलो परिमाणमा व्यापारिक सामान नेपाल भित्रिने गरेका छन् । र, भारतबाट अवैध रुपमा व्यापारिक सामान भित्राउने कार्यमा तस्कर तथा प्रहरीबीच नै “सेटिङ” हुने गरेको विभिन्न घटनाक्रमले देखाएका छन् । धनगढी कै पनि थुप्रै नाकामा प्रहरी सुरक्षाकर्मीकै नाकमुनि खुलेआम भारतबाट दैनिक अवैध रुपमा व्यापारिक सामान भित्रिने गरेको सजिलै देख्न सकिन्छ ।
अवैध सुन कारोबार तथा भारतबाट अवैध रुपमा मालसामान आयातको प्रसंग त छदैछ, कैलालीमा यार्सागुम्बासहित बहुमुल्य जडिबुटी, बन्यजन्तुको आखेटोपहार, लागू पदार्थ चरेशको तस्करी तथा ओसारपसारका अनगिन्ती घटना दोहोरिसकेको अवस्था छ । त्यस्तै, चेलीबेटी बेचबिखनमा सक्रिय गिरोह, व्यक्तिहरुले पनि पछिल्ला वर्षहरुमा कैलालीका विभिन्न सिमानाकालाई प्रयोग गरिरहेको घटनाक्रमले पुष्टि गरेको छ । साना हतियारको तस्करीका समेत घटना भएका छन् । त्यस्तै, कैलालीमा खैरो हेरोइनसहित लागू पदार्थको ओसारपसार तथा बिक्रीका घटना दोहोरिने गरेका छन् । यी सबै घटनाक्रमले कैलाली तस्करीको केन्द्रका रुपमा विकास हुदै गएको संकेत गर्दछ । यसको अर्को संकेत के पनि हो भने तस्करहरुले कैलालीमा सहज ढंगले आफ्नो धन्धा चलाइहेका छन् । यसले जिल्लाको सुरक्षा प्रबन्धमा कहि न कहि चुक भइरहेको देखिदैछ । प्रहरीले तस्करी नियन्त्रणमा अहिलेसम्म गरिरहेको प्रयास तथा प्रबन्धको इमान्दारिपूर्वक समिक्षा गरेर प्रभावकारी योजना र प्रबन्ध गर्नुपर्दछ भन्ने पनि यी घटनाक्रमको पाठ रहेको छ ।
कैलालीका अत्तरिया, सुखड, भजनी, लम्की, धनगढी, टीकापुर, खक्रौला, हसुलिया, चिसापानी लगायतका स्थानमा तस्करी तथा अवैध कारोबारका बढी घटना दोहोरिने गरेको सन्दर्भमा नियन्त्रणका अहिलेसम्मका रणनीति तथा योजनामा समिक्षा गरिनु पर्दछ । अहिलेसम्म तस्करी, अवैध कारोबार नियन्त्रणमा प्रदेश सरकारको भूमिका नै देखिएको छैन । जबकी प्रत्येक प्रदेश सरकारले आफ्नो प्रदेशमा शान्ति सुरक्षाको बलियो प्रबन्ध गर्ने दायित्व बहन गरेकै हुनु पर्दछ । अहिलेसम्म प्रदेश प्रहरीको व्यवस्था नभएकोले पनि शान्ति सुरक्षा बलियो बनाउन तथा अपराधिक गतिविधि नियन्त्रण गर्ने कार्यमा प्रदेश सरकार मुकदर्शक मात्रै बन्ने गरेको पाइन्छ । विभिन्न घटनाले कैलालीमा तस्करी, अवैध कारोबार व्यापक बन्दै गएको पुष्टि गरिरहेको सन्दर्भमा घटनाको सरसर्ती विवरण वा तथ्यांकको प्रस्तुतिले मात्रै नियन्त्रण कार्य प्रभावकारी हुनसक्दैन भन्ने बोध गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार