७ कार्तिक २०८१, बुधबार

उपभोक्ता हकअधिकारबारे उदासिन युवाहरू



धनगढी । ‘सेती प्रादेशिक अस्पताल अगाडि रहेका नीजि क्लिनिकहरूले तोकिएको मूल्यभन्दा बढी शूल्कमा औषधि विक्री गर्छन । यसको नियमन र नियन्त्रण कसले गर्छ’ पञ्चोदय माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने छात्रा लक्ष्मी जोशीको जिज्ञासा हो, यो ।

‘औषधी बिक्रेता र उपभोक्ताका हकअधिकारबारे हामी विद्यार्थीहरूलाई जानकारी हुँदैन । यसबारे सचेतना फैलाउन कसले भूमिका निर्वाह गर्छ ?’ पञ्चोदय माविका सोही कक्षामा अध्ययनरत अर्का विद्यार्थी पवन भट्टले जिज्ञासा व्यक्त गरे ।

लक्ष्मी र पवनजस्तै अधिकाँस विद्यार्थीहरूलाई कुनै सामान खरिद गर्दा विक्रेताले ठगेमा कहाँ उजुरी गर्न जाने र कस्ता प्रमाण चाहिन्छ भन्ने जानकारी हुँदैन । विद्यार्थी उमेर समुहका मात्र होइन, कतिपय युवाहरूमा पनि यो बारे खासै सचेतना छैन ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख कमल पुनले भन्छन्– ‘कुनै विक्रेताले महँगोमा सामान विक्री गरेको, म्याद नाघेको सामान दियो या मिसावट गरी विक्री वितरण गरेको लगायतबारे कहिले पनि उपभोक्तामार्फत उजुरी आएको छैन । यसको अर्थ बजारमा कालोबजारी लगायतका वेथिति नभएको भन्ने होइन । आम उपभोक्तामा सचेतनाको कमी रहेको छ ।’

उनले आम उपभोक्तालाई सचेत भएमात्र बजारमा हुने कालोबजारी, महँगी, सामानमा कमिसन लगायतका प्रवृति रोकिने बताए ।

उनले कार्यालयले बजार अनुगमनसंगै सचेतनाका कार्यक्रममा पनि जोड दिइरहेको बताए । उनले भने– ‘हामीले गत वर्ष कोभिडका कारण विद्यालयमा उपभोक्तासम्बन्धि सचेतना कार्यक्रम गर्ने भनेको थियो तर, हुन सकेन । यो वर्ष छिट्टै यो कार्यक्रमलाई अघि बढाइने छ ।’

उनले चालु आर्थिक वर्षको हालसम्म तीन सय बढी व्यवसायमा अनुगमन गर्दा कालोबजारी, मूल्यवृद्धि लगायत उपभोक्ता ठगि गर्ने ४४ व्यवसायीहरूलाई कारबाही गरिएको बताए । उनका अनुसार व्यवसायीहरूबाट आठ लाख बढी रकम जरिवाना गरिएको बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका हरि रेग्मीले व्यवसायी जिम्मेवार हुनुपर्ने र उपभोक्ताहरू थप चलाखो हुनुपर्ने बताए । उनले भने– ‘अहिले राज्यका नीति कार्यान्वयन नहुँदा बजारमा दिनप्रतिदिन कालोबजारी, मूल्यवृद्धि ह्वातै बढीरहेको छ । यसले गर्दा उपभोक्तालाई राहतभन्दा पनि थप मार भएको छ ।’

उनले राज्यले उपभोक्ता अदालत गठन गर्ने भन्ने ऐनमै उल्लेख गरेको छ तर, अहिलेसम्म त्यो अदालत स्थापना हुन नसकेको बताए । उनले भने– ‘उपभोक्ता अदालत गठन भए बजारमा भइरहेको वेथितिहरू रोकिने देखिन्छ ।’

उनले आम उपभोक्तालाई जागरुक बनाउन सरकार, नीजि क्षेत्रले साताव्यापी कार्यक्रम गर्नुपर्ने बताए । उनले भने– ‘संघीय, प्रदेश, स्थानीय तह र विभिन्न संघ÷संस्थाले सहकार्य गरेर साताव्यापी कार्यक्रम गर्नुपर्ने थियो । यद्यपी स्रोतसाधनको अभावका कारण यो वर्ष त्यो हुन सकेन ।’

उपभोक्ताहित सरक्षण मञ्चका उपाध्यक्ष धनपति ढुङगेल नियमनकारी निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरूलाई अखाद्य बस्तुको खुलेआम किन्नुपर्ने बाँध्यता रहेको बताए । उनले खुल्ला सिमा नाकाका कारणले गर्दा पनि उपभोक्ताहरू अखाद्य वस्तुबाट ठगीन बाध्य भएको बताए ।

उपभोक्ता हकहित दिवसको अवसरमा अन्तक्र्रिया

विश्व उपभोक्ता हकहित दिवसको अवसरमा धनगढीमा सरोकारवालाहरूसंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हकहित संरक्षण मञ्चको सहकार्य तथा धनगढी उपमहानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कैलालीको संयूक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नृपबहादुर वड प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख वडले उपभोक्ताले खरीद गरेको सामानको बिल लिन आवश्यक रहेको बताए । उनले बजार अनुगमन सम्बन्धी सरोकार भएका कार्यलयहरूले हप्तामा एक दिन संयुक्त रुपमा बजार अनुगमन गर्न आवश्यक रहेको बताए । उनले भने– ‘नियमनकारीले मौसमी अनुगमन गर्छ । यसले गर्दा विक्रेताबाट बजारमा जहिले उपभोक्ताहरू ठगिन बाँध्य हुन्छन् । हप्तामा एकदिन नगरको नियमित बजार अनुगमन गरिनुपर्छ ।’

उनले उपभोक्ताहरूमा सचेतना फैलाउन पनि सरोकारवालाहरूले सहयोग गर्नुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले विगतको तुलनामा बजारमा उपभोक्ताहरू ठगिने क्रम रोकिएको बताए । उनले भने– ‘विगतमा उपभोक्ताहरूलाई उपभोक्ता अधिकारबारे खासै जानकारी थिएन । विक्रेताहरूले मनोमानी ढंगले महँगीमा सामान विक्री गर्थे तर, पछिल्लो समय त्यो क्रम कम भएको छ ।’ उनले प्रशासनको टोलीले संयूक्त रुपमा अनुगमन गर्दा ठगि गर्ने उपभोक्ताहरूलाई कारबाही गरिरहेको जानकारी दिए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले हामी उपभोक्ताहरू नै हौ भनेर सबैले सोचेमा गुणस्तरहिन बस्तु बजार सम्म नपुग्ने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहात रहेको प्रदेश वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण निर्देशनालयका प्रमुख रामविचारी ठाकुरले निर्देशनालयले बजारमा नियमित अनुगमनका साथै सचेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले भने– ‘यस वर्ष हामीले १० ठाउँमा उपभोक्तासम्बन्धी जनजागरण कार्यक्रम गर्ने भनेका छौं । केही ठाउँमा भइसकेको छ भने केहीमा गर्ने तयारी रहेका छौं ।’

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावद, कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्ट लगायतले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उपभोक्ता हकहित सम्बन्धी राज्यबाट गरिएका व्यवस्था, कानुनी प्रावधान, खाद्य स्वच्छता लगायतका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख कमल पुन, उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष धनपति ढुङ्गेल र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख उज्जवल कोइरालाले प्रस्तुतिकरण गरेका थिए ।

उपभोक्ता हकहित संरक्षण मञ्चका सचिव टेकबहादुर सेठ्ठीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार भोजराज जोशीले गरेका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीसहित धनगढी उपमहानगरपालिका जनप्रतिनिधी, विभिन्न कार्यालयका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ÷संस्थाका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार