९ चैत्र २०८१, आईतवार

नयाँ संसद भवन प्रविधिमैत्री र सुविधासम्पन्न हुनुपर्छ : प्रतिनिधि सभा सदस्य ढकाल




काठमाडौं / प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे।

उनले संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ भने । प्रतिनिधि सभा सदस्य ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गदर्शन आवश्यक रहेको पनि बताए। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य कार्यकक्षको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

सांसदहरू तथा आगन्तुकहरूसँग भेटघाटका लागि उचित स्थानको अभाव हुँदा हाल नजिकैको चिया पसल धाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले यस्तो अवस्थाको अन्त्यका लागि उचित पूर्वाधार निर्माण गर्न आग्रह गरे।

प्रतिनिधि सभा सदस्य ढकालले निर्माणाधीन संसद भवनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा मुस्लिम सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग समेत राखे।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार