९ चैत्र २०८१, आईतवार

चीन सरकारद्धारा दुई करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग




काठमाडौ/ चीन सरकारले मिनभवनस्थित निजामती कर्मचारी अस्पताललाई आज ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।

त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताइन । उनले चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउदै चीनले नेपालमा लगानी प्रर्वद्धन साथै सडक पूर्वाधार, विद्युत, विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएकोमा धन्यावाद ज्ञापन गरिन।

साङ्घाई सहयोग सङ्घसँग सम्बिन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुइ लिले नदी र पहाडले जोडिएको नेपाल–चीनबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमासमेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताए । उनले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन साङ्घाई सहयोग सङ्घ क्रियाशील रहेको स्पष्ट पारे ।
फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि रु दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताए ।

आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ । तालिमपश्चात दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पु¥याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए। सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङ्कङ फाउन्डेशनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गरेका छन् ।

सोअस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भएर सञ्चालनमा छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रुपमा विकास गर्दै लैजाने योजना बनाएको छ । कार्यकारी निर्देशक डा. पौडेलले करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको सङ्ख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका जानकारी दिए ।

गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको भीड हुने गरेको छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको उनले दावी गरे ।

डा. पौडेलले भने अस्पतालमा पुग्ने जोकोही बिरामीले सजिलै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षण गर्न पाउने भएकाले पनि अस्पतालमा बिरामीको संख्यामा बृद्धी भएको हो ।
वरिष्ठ नेत्र विशेषज्ञ डा। प्रज्ञा बस्नेतले अस्पतालको आँखा विभागका लागि अतिआवश्यक मानिएका आँखा परीक्षणसम्बन्धी अत्याधुनिक उपकरणहरु चीन सरकारबाट सहयोगस्वरुप प्राप्त भएपछि बिरामीले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन ।

अस्पतालका नेत्ररोग विशेषज्ञ डा.राजेश भूर्तेलले आँखाको माइक्रोस्कोप, आँखाको पर्दा, मधुमेह र प्रेसरको परीक्षण तथा राख्नुपर्ने लेन्स अनुमान गर्ने उपकरण प्राप्त भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार