११ पुष २०८१, बिहीबार

भीमदत्तको बल्ड बैंकलाई तीन लाख सहयोग



महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गरेको छ ।

भीमदत्त नगरपालिकाले रक्त सञ्चार केन्द्रलाई ३ लाख सहयोग गरेको हो । सोमबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई ३ लाखको चेक हस्तान्तरण गरेका छन् । नगरपालिकाले गत आर्थिक वर्षदेखि रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्दै आएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए ।

‘नगरवासीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन गत आर्थिक वर्षदेखि आर्थिक सहयोग गर्दै आएका छौं,’ उनले भने,‘गत वर्ष पनि ३ लाख सहयोग गरिएको थियो, यस वर्ष पनि ३ लाख सहयोग गरेका छौं ।’

अब कुनै पनि नगरवासीले आर्थिक अभावमा रगत अभावको समस्या भोग्नु नपर्ने नगर प्रमुख विष्टको भनाई छ । रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने उनि बताउँछन् । ‘हामीले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिका दिएका छौं,’ उनले भने,‘विभिन्न संघसंस्थाको सहयोगमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएका छौं ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले चेक हस्तान्तरण कार्यक्रममा समृद्ध नगर बनाउन विभिन्न संघसंस्थासँग सहकार्य गरिएको बताए । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरसँग सहकार्य गर्दै आएको उनि बताउँछन् । विपद् जोखिम न्यूनीकरण लागि समेत नगरपालिकाले रेडक्रससँग सहकार्य गरेको उनले बताए । रेडक्रससँगको सहकार्यमा भीमदत्त नगरपालिका–१० श्रीलंका टोलमा पुल निर्माण, वडा नं. ९ खल्लामुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक तटबन्ध निर्माण गरिएको नगर प्रमुख विष्ट बताउँछन् ।

‘हामी नगर क्षेत्रमा रहेका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर अगाडि बढिरहेका छौं, नगरको विकासमा सबैले लाग्नु आवश्यक छ,’ उनले भने । भीमदत्तको सहयोगमा नगरवासीलाई गत वर्षदेखि निःशुल्क रगत उपलब्ध गराउने गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीले बताए । ‘गत वर्षदेखि नगरवासीलाई निःशुल्क रगत उपलब्भ गराउँदै आएका छौं,’ उनले भने,‘अहिले नागरिकले आर्थिक अभावमा रगत नपाउने समस्या समाधान भएको छ ।’

कञ्चनपुर जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको उनको भनाई छ । ‘रेडक्रसको रक्त सञ्चार केन्द्रलाई विभिन्न संघ संस्था, नेपाली सेना, प्रहरी र विद्यार्थीको सहयोग हुँदै आएको छ,’ उनले भने, ‘सबैको सहयोग निरन्तर पायौ भने रक्त सञ्चार केन्द्र व्यवस्थित हुँदै जान्छ ।’ नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले २०५१ सालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार