२३ बैशाख २०८१, आईतवार

धनगढी–खुटिया सडकः यथासिघ्र काम शुरु गर्न मागसहित आन्दोलन



धनगढी । धनगढी–स्याउले–खुटिया सडकखण्डको काम यथाशिघ्र शुरु गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।


धनगढीदेखि स्याउले खुटिया हुँदै विपिनगर, गड्सेरा–दिपायल फास्ट ट्रयाक सडक निर्माण दबावमुलक संघर्ष समितिले बुधबारदेखि धनगढीदेखि स्याउले सडकखण्डसम्म आन्दोलनको कार्यक्रम अन्तर्गत चक्काजाम शुरु गरेको छ ।
प्रदेश र स्थानीय सरकारसँग सो सडकखण्ड मर्मतका लागि पटकपटक माग गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै स्थानीयले बुधबार बिहानैदेखि धनगढी–दिपायल दु्रत मार्ग (फाष्ट ट्रयाक) को जिरो प्वाइन्ट धनगढीको हसनपुर पिपलचौतारादेखि स्याउले बजारसम्मको सडकखण्डमा भारी सवारी साधन सञ्चालनमा रोक लगाएको संघर्ष समितिका संयोजक हेमबहादुर बिष्टले बताए ।
धनगढी–खुटिया सडकखण्ड मर्मत नभएका कारण स्थानीयले निकैे समस्या भोग्नु परेको भन्दै प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई समस्या सम्बोधनका लागि दबाव सिर्जना गर्न आन्दोलन गर्नुपरेको उनले बताए ।
संघर्ष समितिका संयोजक बिष्टले सो सडकखण्डमा मर्मत कार्य अगाडि नबढेसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रम अघि बढाइने बताए । उनले चक्काजामसंगै स्थानीय तहका जनप्रतिनिधी, प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना लगायतका कार्यक्रम अघि बढाइने बताए ।


स्थानीय मिना धामीले पछिल्लो चुनावका वेला सिन प्रायः सबै दलका नेताहरुले धनगढी–खुटिया–दिपायल फास्ट ट्रयाकको काम अगाडि बढाउने आश्वासन दिंदै भोट मागेको बताइन् । उनले भनिन्– सबै दल तथा उम्मेदवारले यो सडक निर्माणलाई चुनावी नारा बनाए, तर निर्वाचनपछि कसैले पनि यसबारे चासो दिएका छैनन् । उनले निकै बिग्रेको सो सडकका कारण स्थानीयले दैनिक दुःख झेल्नु परिरहेको बताइन् । ‘सडक बनेको भए धुलो खानु पर्दैनथ्यो’ उनले भनिन्– सरकारले फास्ट ट्रयाकको काम पुरा गर्न ठोस पहल गरोस् ।
बुधबारदेखि स्थानीयले आन्दोलनका कार्यक्रम अघि बढाएपछि गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउ“द र उपप्रमुख रत्ना कडायतले सहमतिको प्रयास गरेका थिए । नगर प्रमुख र उपप्रमुख स्याउले चौकमा पुगेर स्थानीयलाई सो सडकखण्डमा धुलो उड्न नदिन पहल गर्ने आश्वासन दिएका थिए । स्थानीयमाझ नगर प्रमुख साउदले भने– यो सडकमा दैनिक दमकलबाट पानी हाल्ने व्यवस्था मिलाउछौं । र यो सडक मर्मत तथा निर्माण कार्य अघि बढाउन संघ र प्रदेश सरकारसंग आग्रह गरिएको छ । तपाईहरु आन्दोलन नगर्नुहोस् ।
तर, आन्दोलनमा उत्रिएका स्थानीयले भने जनप्रतिनिधिहरूले विगतदेखि पटकपटक यस्ता आश्वासन दिने गरेकाले ठोस काम अघि नबढेसम्म आन्दोलनलाई निरन्तरता दिएका छन् ।
आन्दोलनका क्रममा बुधबार उनीहरुले “सुदूरपश्चिमका बेखबर जनप्रतिनिधी र कुम्भकर्णी सरकार जागरुक वन”, तत्काल सडक निर्माण कार्य कार्यान्वयन गर, झुटा आश्वासन बन्द गर, चुनावी एजेन्डा कार्यान्वयन गर, स्थानीयसंग गरेका पटक–पटकका सम्झौता तत्काल कार्यान्वयन गर लगायतका नारा लगाएका थिए ।

एक वर्षअघिको मुख्यमन्त्रीको धारणा

गत वर्ष पदभार ग्रहण गरेकै दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले “खुटिया–दिपायल फास्ट ट्रयाक आफनो प्राथमिकतामा रहेको” घोषणा गरेका थिए ।
२०७४ साल चैत १९ गते सरोकारवालाहरुसंग मुख्यमन्त्रीले फास्ट ट्रयाकबारे छलफल गरेका थिए । ‘दिपायलदेखि धनगढी जोड्ने यो सडक एकदमै छोटो र सहज बाटो हो’ सो समयमा उनले भनेका थिए– टेण्डर भइसकेको सडक किन र कहा“ रोकियो ? समस्या के हो ? प्रदेशले गर्नुपर्ने काम प्रदेश सरकारले गर्छ ? जति सक्यो चाँडो काम अघि बढाउनुहोस् ।
मुख्यमन्त्री भट्टले हसनपुरदेखि स्याउले सडकमा निस्कने धुलो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई अस्थायी व्यवस्थापन गर्न जिम्मेवारी दिएका थिए । उनले हसनपुर–स्याउले सडकखण्डलाई आगामी आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी योजना पेस गर्न धनगढी–दिपायल फास्ट ट्रयाक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए ।
२०७४ चैत १४ गते धनगढी–स्याउले क्षेत्रभित्रका स्थानीयहरूले फास्ट ट्रयाक अन्तर्गत धनगढीको हसनपुरदेखि स्याउले बजारसम्मको सडक धुलाम्य भएकाले तत्काल मर्मत गर्नुपर्ने, फास्ट ट्रयाक छिटो निर्माण गर्नुपर्ने लगायतको माग राख्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित समाचार

धनगढी–दिपायल फास्ट ट्रयाक फेरि केन्द्र सरकार मातहत

अन्योलमा धनगढी–दिपायल द्रुतमार्ग : आगामी जेठभित्रै यातायात सञ्चालन हुन्छ– मुख्यमन्त्री भट्ट

धनगढी–दिपायल फास्ट ट्रयाकबारे छलफल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार