२३ बैशाख २०८१, आईतवार

धनगढी–दिपायल फास्ट ट्रयाकबारे छलफल



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी–खुटिया–दिपायल फास्ट ट्रयाकबारे आइतबार सरोकारवालाहरूसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँगको छलफलमा मुख्यमन्त्री भट्टले सो फास्ट ट्रयाकको निर्माण कार्य दु्रत गतिमा अघि बढाइने पनि बताए ।
‘दिपायलदेखि धनगढी जोड्ने यो सडक एकदमै छोटो र सहज बाटो हो’ उनले भने– टेण्डर भइसकेको सडक किन र कहाँ रोकियो ? समस्या के हो ? प्रदेशले गर्नुपर्ने काम प्रदेश सरकारले गर्छ ? जति सक्यो चाँडो काम अघि बढाउनुहोस् ।
उनले केन्द्रबाट चाहिने सहयोगका लागि प्रदेश सरकारले सहयोग गर्ने र कुनै पनि बहानामा सडकको काम अलपत्र हुन नदिन सरोकारवालाहरूसँग आग्रह गरे । उनले सडक स्तरोन्नतीको जिम्मा पाएका निकायहरूले एक अर्काेलाई दोष दिँदै पन्छिन नमिल्ने भन्दै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
मुख्यमन्त्री भट्टले हसनपुरदेखि स्याउले सडकमा निस्कने धुलो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई अस्थायी व्यवस्थापन गर्न जिम्मेवारी दिए । उनले हसनपुर स्याउले सडक खण्डलाई आगामी आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी योजना पेस गर्न धनगढी दिपायल फास्ट ट्रयाक डिभिजन कार्यालयलाई निर्देशन दिए ।
छलफलमा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी, खुटिया, दिपायल फास्ट ट्रयाक डिभिजन प्रमुख राजेन्द्रप्रसाद शाह, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, धनगढी दिपायल फास्ट ट्रयाक निर्माण कम्पनीमा ठेकेदार शंकरप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।
पाँच दिन पहिले धनगढी–स्याउले क्षेत्रभित्रका स्थानीयहरूले फास्ट ट्रयाक अन्तर्गत धनगढीको हसनपुरदेखि स्याउले बजारसम्मको सडक धुलाम्य भएकाले तत्काल मर्मत गर्नुपर्ने, फास्ट ट्रयाक छिटो निर्माण गर्नुपर्ने लगायतको माग राख्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार