२३ बैशाख २०८१, आईतवार

अन्योलमा धनगढी–दिपायल द्रुतमार्ग : आगामी जेठभित्रै यातायात सञ्चालन हुन्छ– मुख्यमन्त्री भट्ट



धनगढी । केन्द्रीय अर्थमन्त्री युवराज खतिवडाले गत जेठमा प्रस्तुत गरेको चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमा खुटिया–विपिनगर–दिपायल सडकबारे पनि उल्लेख गरे ।
बजेट भाषणको १६९ नम्बरमा “खुटिया–विपिनगर–दिपायल सडक सहित देशका सात वटा लोकमार्ग सर्भेक्षण गरी सुरुङ्ग मार्ग निर्माण प्रारम्भ गरिने” उल्लेख छ । बजेट भाषणको १७० नम्बरमा “‘जटिल किसिमका सुरुङ्ग निर्माणमा प्रयोग हुने उच्च प्रविधिका सुरुङ्ग खन्ने मेसिन, भारी निर्माण उपकरण एवं पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरण सम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन एवं निर्माणको समेत काम गर्न निजी क्षेत्रको संलग्नतामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गरिने’ उल्लेख छ ।
तर संघीय सरकारले यो सडक निर्माणका लागि बजेट विनियोजन गरेन । बरु खुटिया–विपिनगर–दिपायल द्रुतमार्ग निर्माण गर्ने जिम्मा प्रदेश सरकारलाई दियो । सुदूरपश्चिम प्रदेश सरकारले यो सडक राष्ट्रिय गौरवको आयोजना भएको भन्दै निर्माण गर्ने जिम्मा संघीय सरकारले नै लिनुपर्ने भनेर संघीय सरकारलाई पत्राचार गर्‍यो ।
संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले खुटिया–विपिनगर–दिपायल द्रुतमार्ग निर्माण गर्ने जिम्मा एकअर्कालाई दिन थालेपछि यसको निर्माण कार्य नै अन्यौलमा परेको छ । प्रदेश र संघीय सरकार दुबैले बजेट नछुट्याएपछि चालू आर्थिक वर्षमा गत वर्षको बाँकी काम मात्रै हुने भएको छ ।
दश वर्षदेखि निर्माण शुरु भएको धनगढीदेखि स्याउले, विपिनगर, गड्सेरा हुँदै दिपायल पुग्ने द्रुतमार्गको लम्बाई (स्याउले बजारदेखि दिपायलसम्म) ८२ किलोमिटर रहेको छ । कैलालीको चुरेमा पर्ने २० किलोमिटर र डोटीमा पर्ने ४८ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा अझै कैलालीमा सात र डोटीमा आठ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ ।
जानकारहरूका अनुसार कहिले स्थानीय बासिन्दाको अवरोधका नाममा तथा कहिले बाह्य तगारो भन्दै द्रुत मार्ग निर्माणमा बाधा हुँदै आएको छ । गत वर्षदेखि नेपाल सरकारले निर्माण गर्ने जिम्मा उपभोक्ता समितिलाई नदिएर निजी क्षेत्रलाई दिएपछि ट्रयाक खन्ने कामले केही गति पाएको थियो ।
तर, छ मिटर चौडाई रहेको धनगढी–दिपायल दु्रतमार्गलाई १२ मिटर चौडा बनाउने सरकारको निर्णयसंगै वन मुद्दामा अल्झिएर निर्माण कार्य ठप्प भएको छ । कैलालीको चुरेमा ट्रयाक खन्ने जिम्मा पाएको अनेष्ट कन्ट्रक्सनका टेकेन्द्र शाहीले रुख धेरै काटिने भएपछि ट्रयाक खोल्ने काम रोखिएको बताए । उनले वन मन्त्रालय रुख काट्ने आदेश दिएपछि दुई महिनामा कैलालीमा बाँकी ट्रयाक खन्ने काम पुरा हुने बताए ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारसंग समन्वय गरी वन मन्त्रालयबाट छिट्टै रुख काट्ने आदेश लिई निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले प्रदेश सरकार वा संघीय सरकारको मातहतमा धनगढी–दिपायल दु्रतमार्ग निर्माण गर्ने विषय पनि छिट्टै टुंगो लगाइने बताए । “नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राखेर पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो’ गत शनिबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढी–दिपायल दु्रतमार्गको कैलाली खण्ड अनुगमन गर्ने क्रममा मुख्यमन्त्री भट्टले कैलालीको चौकीगडामा पुगेर भने– हामीले नेपाल सरकारलाई राष्ट्रिय गौरवको योजनामा राखेर सोही अनुसारको बजेट छुट्याएर काम अगाडि बढाउन अनुरोध गरेका छौं । नेपाल सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
मुख्यमन्त्रीले आगामी जेठ महिनाभित्रै धनगढीदेखि दिपायलसम्म यातायात सञ्चालन हुने विश्वास समेत व्यक्त गरे ।
मुख्यमन्त्रीसंगै अनुगमनमा रहेका प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नेपाल सरकारले धनगढी–दिपायल दु्रतमार्ग निर्माण गर्ने जिम्मा नलिए प्रदेश सरकारले प्रदेश गौरवको योजनामा राखेर काम थाल्ने बताए । “सुदूरपश्चिम प्रदेशको विकासको लागि यो दु्रतमार्ग निकै आवश्यक छ” उनले भने– नेपाल सरकारले नगरे हामीले प्रदेश गौरवको योजनामा राखेर ठूलो रकम छुट्याएर काम अगाडि बढाउछौं ।
तर, धनगढी–दिपायल दु्रतमार्ग निर्माणको शुरुवाती चरणमा उपभोक्ता समिति अध्यक्ष भएर कैलाली खण्डमा काम गरेका चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर भने प्रदेशको बजेटले सो सडक निर्माण गर्न नभ्याउने बताउछन् । उनले धनगढी–दिपायल दु्रतमार्ग निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले संघीय सरकारले नै बजेट विनियोजन गरी राष्ट्रियस्तरबाट काम गर्नुपर्ने बताए ।
धनगढी–दिपायल दु्रतमार्गको कैलाली खण्ड अनुगमन गर्ने क्रममा मुख्यमन्त्री भट्टले आउदो जेठभित्रै सो सडकमा यातायात सञ्चालन गर्ने गरी काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिए । “धनगढीदेखि दिपायलसम्म आउँदो बैशाख–जेठभित्रै कैलाली र डोटीबाट ट्रयाक जोडेर गाडी चल्ने कच्ची बाटो बनाउन सकिन्छ’ मुख्यमन्त्री भट्टले निर्माण कम्पनीहरुलाई निर्देशन दिए– तपाईहरु त्यही अनुरुप काम गर्नुस् ।
उनले कच्ची सडक तयार भएपछि पक्की बनाउन पहल शुरु गरिने बताए । उनले धनगढी–दिपायल द्रुतमार्गलाई बझाङ्गको ताक्लाकोटसम्म पुर्‍याउने लक्ष्य रहेको पनि बताए ।
कैलालीको चुरेमा ट्रयाक खनिरहेको अनेष्ट कन्ट्रक्सनका टेकेन्द्र शाहीले सरकारले समयमै आदेश दिएमा २०७५ सालमै गाडी गुडाउन सकिने बताएका छन् । उनले ट्रयाक दुई महिनामा १५ किलोमिटर खनेर गाडी चल्ने बाटो बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार