१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार साँझ ५ बजे विश्वासको मत लिने भएका छन् ।

एमालेले ह्वीप जारी नगरेपछि शुक्रबार लिने भनिएको विश्वासको मत लिने गरेर बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर, गठबन्धन आबद्ध मुख्य दल नेकपा (एमाले) ले सल्लाह नभएका कारण विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित गरिएको हो ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।

एमालेको केही कुरा नमिलेका कारण मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम एक दिन पछाडि सरेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता प्रकाश रावलले जानकारी दिए । “शनिबार साढे ५ बजे मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुहुन्छ”, उनले भने ।

सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीको पक्षमा २८ जनाको समर्थन देखिने गरे पनि एमालेले तत्काल विश्वासको मत नदिने अडान लिएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्यहरु बसेर वैशाख २१ गते विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । सो बैठकमा एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार