१९ मंसिर २०८२, शुक्रबार

सुनचाँदी व्यवसायी आन्दोलित



कैलालीका सुनचाँदी व्यवसायी आन्दोलित बनेका छन् । आज पत्रकार सम्मेलन गर्दै सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति असन्तुष्टि जनाउँदै आन्दोलित बनेको जानकारी दिइएको हो ।

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको नेपाल सुनचाँदी व्यवसायी सघं कैलालीका अध्यक्ष यदु सुनारले बताए ।

यस्तो प्रक्रिया व्यवसायमा घाटा पुर्‍याउने भन्दै यसमा पुनर्विचार गर्न उनले माग गरे । ब्यवसायीहरुले नयाँ कर प्रणालीको बिरोध गर्दै हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । भोलि हात हातमा पसलका चावी लिएर धनगढी चौराहादेखि जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपूर्ण र्‍याली निकालिने अध्यक्ष सुनारले बताए । हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत सुनचाँदी ब्यवसायीहरुको माग छ । निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ । भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार