१ आश्विन २०८३, बिहिबार

दुई महाधिवेशनले कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्छ : कोइराला



काठमाडौ/ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनले कांग्रेसको मात्र नभई मुलुकको लोकतान्त्रिक आन्दोलन र राष्ट्रियतामै आघात पुग्ने बताएका छन् ।

कांग्रेसको आन्तरिक जीवनमा देखिएको विभाजन र आसन्न दुई महाधिवेशनको सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै कोइरालाले पार्टीलाई विभाजनबाट जोगाउन मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने बताएका हुन् ।

उनले नेपाल अहिले राष्ट्रको भविष्य र अस्तित्वका विषयमा गम्भीर चिन्ता उत्पन्न भएको चौबाटोमा उभिएको उल्लेख गर्दै यस्तो अवस्थामा राजनीतिक नेतृत्वले सहमति र सहकार्यका माध्यमबाट अघि बढ्नुपर्ने बताए । नेतृत्वबीच समझदारी हुन नसक्दा कतिपय राष्ट्रले आफ्नो अस्तित्वसमेत गुमाएको इतिहासबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले नेपाली कांग्रेसको गौरवशाली इतिहास संघर्ष, त्याग, बलिदान, निष्ठा र लोकतान्त्रिक आदर्शमा आधारित रहेको स्मरण गरेका छन् । बीपी कोइरालालगायत संस्थापक नेताहरूले पद, प्रतिष्ठा र प्रलोभनभन्दा माथि उठेर पार्टीको राजनीतिक तथा नैतिक आधार निर्माण गरेको उल्लेख गर्दै उनले अहिले कांग्रेस आफ्नो मूल संस्कार र आदर्शबाट विचलित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

‘कांग्रेसको पटकथा कहाँबाट, कसले र कसरी लेखिरहेका छन् मलाई थाहा छैन,’ उनले भनेका छन्, ‘यसबाट मलाई पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ ।’

आसन्न दुई महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै कोइरालाले यसबाट राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने बताएका छन् । उनले दुई महाधिवेशन रोक्दै पार्टीभित्र मध्यमार्गी र विवेकपूर्ण समझदारी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले कांग्रेस न अजेय रहेको न विजयी अवस्थामा रहेको टिप्पणी गर्दै पार्टी विभाजित, विघटनकारी र गन्तव्य हराएको माझीजस्तो बनेको बताएका छन् ।

देश प्राकृतिक विपत्तिले आक्रान्त भएका बेला कांग्रेस आन्तरिक विवादमा अल्झिनु झन् दुःखद भएको उनको भनाइ छ । रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट पीडित नागरिकप्रति पार्टी संवेदनशील हुन नसकेको भन्दै उनले प्रश्न उठाएका छन् ।

‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्,’ कोइरालाले भनेका छन्, ‘उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौं ?’

पार्टीभित्र को सही र को गलत भन्ने पक्षमा उभिनुभन्दा कांग्रेसलाई एकताबद्ध बनाउन आफू लागिरहेको उनले स्पष्ट पारेका छन् । साथीभाइबीच असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमा आफू बस्न नसक्ने उनको भनाइ छ ।

विश्व राजनीतिले नेपालमा गहिरो प्रभाव पारिरहेको अवस्थामा बीपी कोइरालाको राजनीतिक आदर्श स्मरण गर्दै उनले कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । मध्यमार्ग कठिन भए पनि सत्य र कांग्रेसको जीवन दर्शनको बाटो यही भएको उनले बताएका छन् ।

कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्र सम्भव हुने बताएका छन् ।

‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ,’ उनले भनेका छन्, ‘हामी उठ्छौं, जुट्छौं र जित्छौं ।’

उनले गाउँ, टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी एकताका लागि दृढतापूर्वक अभियानमा जुट्न आह्वान गरेका छन् । कांग्रेसको एकता र राष्ट्र निर्माणको अभियानलाई अलग रूपमा बुझ्न नसकिने भन्दै कोइरालाले आफू पार्टी एकताको सन्देशसहित देशभरका कार्यकर्तासँग संवाद गर्न गाउँघर पुगिरहने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार