१४ बैशाख २०८१, शुक्रबार

शुक्रबारदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव




दुई दर्जन साहित्यिक सत्र प्रस्तुत हुने
विविध मौलिक सांस्कृतिक प्रस्तुति
झमक घिमिरे, प्रेन्सा रेग्मी, अनुराधा कोइरालासहित दुई सय बढी सहभागी हुने


धनगढी
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी शुक्रबार (१० गते) देखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदैछ । महोत्सव आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने छ ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक साहित्य समाजले जनाएको छ । विश्व नेपाली नारी साहित्य महोत्सवबारे आज बुधबार साहित्य समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तीर्थराज पाण्डेयले महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।

अध्यक्ष पाण्डेयले महोत्सव आयोजनाका लागि मुल आयोजक समिति तथा डेढ दर्जन बढी उपसमितिहरु गठन भएका बताए । साहित्य समाजको प्रांगणमा आकर्षक पण्डाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा पहिलो साहित्य छलफलमा “परिवर्तनका कुरा ः कति पूरा, कति अधुरा ?” शिर्षक सत्रमा प्रधानमन्त्री प्रचण्ड प्रमुख वक्ता रहेको सत्रको अद्भूत प्रतिभा बालिका प्रेन्सा रेग्मीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरे “जीवन काँडा कि फूल ः मौन आवाज, मौन अभिव्यक्ति” शिर्षक सत्रको आकर्षक रहने छिन् ।

स्थापित सामाजिक नेतृत्व अनुराधा कोइराला “अनुराधासँग अनुराधाहरू” मा मुख्य वक्ताका रुपमा प्रस्तुत हुने छिन् । प्रशिद्ध साहित्यिक स्रष्टा राजेन्द्र विमल “के हो देश जोड्ने कडी ?” अर्को आकर्षण हुने छ । “समाज, साहित्य र राजनीतिको अन्तर्संबन्ध” मा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता प्रदीप ज्ञवाली वक्ताका रुपमा रहनेछन् ।

साहित्य समाजका अध्यक्ष पाण्डेयका अनुसार तीन दिनसम्म २४ वटा शिर्षकमा साहित्य संवाद सञ्चालन हुने छन् ।
महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति– गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र रनपुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौंरा थारुको लठौवा नाच प्रस्तुत हुने छन् ।

अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कारद्वारा सम्मान गरिने छ ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । “धनगढी साहित्य शहरका रुपमा स्थापित भइसकेको छ” अध्यक्ष पाण्डेयले भने– हामीले नेपालमै पहिलो पटक धनगढीमा तीन वर्षअघि विश्व नेपाली साहित्य सम्मेलनको सफल आयोजना गरिसकेका छौ । गत वर्ष नेपाली साहित्य सम्मेलन आयोजना भएको छ । यो (विश्व नेपाली नारी साहित्य सम्मेलन) आयोजनाले धनगढीसहित सुदूरपश्चिमको भाषा, साहित्य र कलामा नयाँ उचाईं थप्ने विश्वास गरेका छौं ।

आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सवले नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रुपमा रहेको काली–कर्णाली क्षेत्रको गौरवगाथा तथा प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य, उद्योग, व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्न योगदान पुर्याउने विश्वास गरेको छ । साहित्य समाजले भनेको छ– यस क्षेत्र (सुदूरपश्चिम प्रदेश) बाट उद्गम भएको नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बोकेर संसारका विभिन्न देशमा पुगेका नेपालीभाषी वीर जातिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएका छन् ।

साहित्य समाजले विश्वास व्यक्त गरेको छ– यही गौरवगाथालाई आत्मसात गर्दै संसारभरीका नेपालीभाषीहरूलाई जोड्न र नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा जुटेका संसारभरीका नेपालीभाषी साधकहरूले एकै मञ्चमा आराधना गर्न विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गरिएको छ ।

साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार