सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजनीतिक सल्लाहकार नियुक्त
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । संघीयता कार्यान्वयन भएको सातौ वर्षमा पहिले पटक सुदूरपश्चिमले औपचारिक रुपमा राजनीतिक सल्लाहकार पाएको हो ।
मुख्यमन्त्री शाहले पुस महिनादेखि लागु हुने गरेर युवा वैज्ञानिक उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरे । मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार बन्नु भएका उपाध्याय कैलालीको टीकापुर नगरपालिका–१ को बासिन्दा हुन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३, उपदफा १ (क) बमोजिम डा. उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको हो । सोही कार्यविधिको दफा ९ एवम् अनुसूची २ बमोजिम उपाध्यायको पारिश्रमिक र सुविधा हुने जनाइएको छ ।
मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका उपाध्याय क्यानाडाको म्याकगिल विश्वविद्यालयमा अध्यापनको काम गर्दै आएका थिए । उनले दक्षिण कोरियाको चोनबुक नेशनल युनिभर्सिटीबाट फूड साइन्स एण्ड टेक्नोलोजीमा विद्यावारिधी गरेका छन् ।
उनका झन्डै दुई दर्जन अनुसन्धानमूलक जर्नल प्रकाशित भएका छन् । उपाध्याय सरकारी छात्रवृत्ति र शैक्षिक उपलब्धि पदक नेपाल विद्याभूषण क बाट विभूषित हुनु भइसकेका छन् ।