७ पुष २०८१, आईतवार

कैलालीमा आधा किलो सुन र नगदसहित दुई जना भारतीय पक्राउ



धनगढी/ कैलालीमा आधा किलो सुन र नगदसहित दुई जना भारतीयलाई पक्राउ गरिएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका(३ को ट्राफिक चौराहबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार २ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनकाअनुसार उनीहरूको साथबाट ५४९ दशमलव दुई सय ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपियाँ, एक हजार २८० भारतीय रूपियाँ र सुन बोक्न प्रयोग गरिएको युपी ३२ जेभी ९२०० नम्बरको भारतीय गाडी समेत बरामद गरिएको छ ।

एउटा ल्यापटप र दुई वटा मोबाइल पनि बरामद गरिएको छ । पक्राउ परेका भारतीय र बरामद सुनसहितका सामान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले विशेष सूचनाका आधारमा सुन र नगदसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरि ल्याइएको उनले बताए ।

पक्राउ परेका मध्येका सुमित वर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

एसपी विष्टले सुनसहित पक्राउ परेकाहरूलाई अनुसन्धान सकेर थप कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार