१० श्रावण २०८१, बिहीबार

भारतबाट फर्किनेहरू बढेसंगै कोरोना संक्रमण दरमा पनि बृद्धि




धनगढी / सुदूरपश्चिम प्रदेशमा पछिल्ला छ दिनयता कोरोना संक्रमण दरमा लगातार बृद्धि भइरहेको छ । भारतका विभिन्न स्थानबाट घर फर्किने नेपालीहरूको संख्यामा बृद्धि भएसंगै संक्रमण दर पनि बढिरहेको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशका गौरिफन्टा, गड्डाचौकी र झुलाघाट नाकाहुदै आइतबार फर्केकाहरू ९७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार विभिन्न सिमानाका हुदै फर्किएका १३ सय ४३ जनाको स्वाब परीक्षण भएकोमा १२५ जना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, शुक्रबार ११ सय ७८ जनाको परीक्षण गरिएकोमा ९७ जनामा पुष्टी भएको थियो । बिहीबार प्रदेशका चार सिमानाकाहुदै फर्किएका १२ सय ७८ जनाको एन्टिजेन परीक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार तीन नाकामा एक हजार ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा पुष्टि भएको थियो । भने मंगलबार तीन सिमानाकामा फर्केका ८७६ जनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

सुदूरपश्चिम प्रदेशको गौरिफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट र जोलजीवी नाकाह“ुदै नेपालीहरू फर्किने क्रम बढेको छ । यसैगरी, प्रदेशका विभिन्न अस्पतालहरूमा गरिएको पिसिआर परीक्षणमा पनि संक्रमण दर बढेको देखिएको छ ।

आइतबार १५ जनाको परीक्षण गर्दा नौ जना, शनिबार ३६ जनाको परीक्षण गर्दा आठ जनामा र शुक्रबार ११६ जनाको परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, बिहीबार ४१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १२ जना, बुधबार ६९ जनाको परीक्षण गर्दा नौ र मंगलबार ५५ जनाको परीक्षण गरिएकोमा आठ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

पछिल्ला छ दिनको अवधिमा प्रदेशमा एन्टिजेन र पिसिआर विधिबाट गरिएको परीक्षणमा ५१५ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

तर, परीक्षणबाट संक्रमितमध्ये २०५ जनालाई मात्रै संस्थागत आइसोलेसनमा राखिएको छ । बा“की संक्रमितलाई होम आइसोलेसन पठाइएको छ । सबै संक्रमितलाई संस्थागत आइसोलेसनमा नराखेर होम आइसोलेशनमा पठाइएको हुनाले समुदायमा समेत संक्रमण फैलिने खतरा बढेको छ ।

अस्पतालमा पिसिआर र एन्टिजेन परीक्षण गरिएका विरामीमध्ये अधिकांश समुदायमै रहेका व्यक्ति छन् । सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले अहिले अस्पतालमा आयातित केस नरहेको बताए । उनले अहिलेसम्म अस्पतालमा मसुदायभित्र कै व्यक्तिमा संक्रमण देखिएको बताए । उनले भने– अहिलेसम्म कोरोनाको तेस्रो लहर समुदायमा पुगिसक्यो भन्ने बेला भने भइसकेको छैन ।

कोरोनाको पहिलो र दोस्रो लहरको सिकाईका आधारमा अहिले सरकारले सिमानाकामा नै राम्रोसंग व्यवस्थानि गरिरहेको छ । सबैलाई होल्डिङ्ग सेन्टरमा राख्ने गरिएको छ ।

डाक्टर शर्माका अनुसार तेस्रो लहरको कोरोना संक्रमण पहिलेकोभन्दा निकै नरम खालको संक्रमण छ । “लक्षण पनि फरक देखिएको छ’ उनले भने– अहिले सिंगान बग्ने समस्या देखिएको छ र फोक्सोलाई सिधै संक्रमण हुने समस्या भने देखिएको छैन । भ्याक्सिनको प्रभाव पनि हुन सक्छ, तर सर्ने दर बढि छ ।

पहिलो र दोस्रो लहरमा सिकाईसंग स्थानीय र प्रदेश सरकार अक्सिन सहितको होल्डिङ्ग सेन्टर, अक्सिजन प्लान्ट, आइसोलेशन लगायतको तयारी गरेका छन् । प्रदेश सरकारले त्रिनगर नाकामा होल्डिङ्ग सेन्टर निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार