१० श्रावण २०८१, बिहीबार

त्रिपालमुनि कठ्याङ्ग्रीदै भुकलीहरू



धनगढी / कैलालीको भजनी नगरपालिका वडा नम्बर ५, लालबोझी ७० वर्षीया भुकली डंगौरा एउटा सानो त्रिपालभित्र कठ्याङ्ग्रीएर बसेकी छिन् ।

कैलालीमा केही दिनदेखि शितलहर र हुस्सुसंगै चिसो अत्यधिक रुपमा बढेको छ । तर, भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् ।

गत कार्तिकको १ र २ गते आएको भारी वर्षाले उनको घरबास बगायो । घरबारबिहीन भएपछि उनलाई नगरपालिकाले त्रिपाल सहयोग गर्यो । त्यो वेलादेखि उनी त्यही त्रिपालभित्रै गुजारा गरिरहेकी छिन् ।

उदास भावमा उनले भनिन – नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा यहि त्रिपाल पाएकी हुँ । चिसो बढेको छ । सडकमा सुत्न बाध्य छु ।

मंगलबार रातिदेखि सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा वर्षा भएको छ । तराईमा शितलहर र बाक्लो कुहिरो लागेको छ । चिसो अत्याधिक बढेको छ । घरबारबिहीन भएका भुकलीहरू त्रिपालमुनि चिसोले थरथर काप्दै दिन काटिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बिहीबारदेखि बाक्लो हुस्सु लागिरहेको छ । शितलहर चलिरहेको छ । विपन्न वर्गमाथि थप कष्ट थपिएको छ ।

चिसोबाट आम नागरिकलाई सुरक्षित राख्न भने प्रदेश र स्थानीय सरकारहरूले अहिलेसम्म कुनै ठोस योजना तथा कार्यक्रम ल्याएका छैनन् । शितलहर र अत्यधिक चिसोबाट आममानिसलाई सुरक्षित राख्न सामाजिक विकास मन्त्रालयमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले अनुमोदनसंग भनिन– अहिले मन्त्रालयले सो कार्यक्रमलाई अघि बढाएको छ वा छैन भन्ने मैले जानकारी लिन पाएको छैन ।

मन्त्री जोशीले अहिलेसम्म शितलहरबाट यस प्रदेशमा कति जना प्रत्यक्षरुपमा प्रभावित भएको बारे आफुसंग जानकारी नआएको बताइन ।
विशेषतः मुक्त कमैया शिविर, बाढी तथा पहिरोबाट विस्थापित परिवार अहिले चिसोबाट प्रभावित भए पनि उनीहरूको विषयमा भने कुनै पनि सरकार गम्भिर बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।

विपद आएका बेला प्रभावित परिवारलाई राहत तथा विभिन्न सामाग्री प्रदान गरिन्छ । जब घटना सामान्य बन्दै जान्छ उनीहरूको उचित बसोबास पनि भएको हुँदैन । अन्य विपदबाट हुन सक्ने क्षतिको आकलन पनि गरिदैन विपद क्षेत्रमा काम गरिसकेका नेकपा एमाले प्रदेश सचिव धर्मराज पाठक भन्छन् ।

विगतका वर्षहरूमा स्थानीय तहहरूले चोकचोकमा आगो बाल्नका लागि दाउरा वितरण, विपन्न असहाय परिवार तथा व्यक्तिलाई न्यानो कपडा वितरण गर्ने लगायतका कार्यक्रम गर्दै आएका थिए ।

स्थानीय तहमा जनप्रतिनिधीहरू निर्वाचित भएर आएपछि सो कार्यक्रमले निरन्तरता पाएको थियो । तर, कोभिड–१९ को महामारीसंगै जारी निषेधाज्ञा पछि दुई वर्षयता स्थानीय तहहरूले चोकचोकमा दाउरा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छैनन ।

एमाले प्रदेश सचिव पाठकले विपदबाट हुने क्षति न्युनिकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरू गम्भिर नभएको बताए । उनले तत्काल सरकारहरूले शितलहरबाट नागरिकलाई बचाउन गम्भिर हुुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार