१० श्रावण २०८१, बिहीबार

सडक विस्तार हुँदै, खानेपानीको हाहाकार




धनगढी / धनगढी उपमहानगरपालिकाको शहीदगेटदेखि क्याम्पसगेटसम्मको सडक विस्तार तथा स्तरोन्नतीका क्रममा दर्जन बढी टोलमा खानेपानी आपूर्ति बन्द भएको छ ।

आइतबारदेखि खानेपानी आपूर्ति बन्द भएकोमा अझैं दुई सातासम्म सञ्चालन हुने सम्भावना देखिएको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा निर्मित शिवनगर खानेपानी आयोजनाबाट पछिल्ला पाँच वर्षदेखि आपूर्ति हुदै आएको खानेपानीबाट अहिले वडा नम्बर १ का शिवनगर, लक्ष्मीनगर, बुद्धनगर, केदारटोल, क्याम्पसचोक, सहित एक दर्जन बढी टोलका उपभोक्ताहरू बञ्चित हुनपुगेका छन् ।

सडक विस्तार र स्तरोन्नतीका क्रममा सडक किनारामा पहिले जडान गरिएका खानेपानीका पाइपहरू उखेलेका कारण अहिले झण्डै दुई हजार बढी परिवार खानेपानीबाट बञ्चित भएका छन् ।

शिवनगर खानेपानी आयोजना उपभोक्ताहरूबाट सञ्चालित योजना हो । खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खातीका अनुसार अझैं दुई साता खानेपानी आपूर्तिमा समस्या हुने छ । अनुमोदनसंगको फोनवार्तामा उनले भने– सडक विस्तार भएका कारण पाइपहरू निकाल्नु प¥यो ।

हामीहरू सडकको बाहिरतिरबाट नयाँ पाइप बिछ्याउने क्रममा छौं । प्राविधिकले दुई साता समय लाग्ने भनेको छ, तर हामी सकेसम्म छिटो खानेपानी आपूर्ति गर्ने प्रयासमा छौं ।

शिवनगर खानेपानी आयोजनामा करिब चार हजार परिवार उपभोक्ता सदस्य रहेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १ र ५ का केही टोल तथा वडा नम्बर ७ र ८ पुरैलाई समेटेर खानेपानी आपूर्ति हुदै आएको थियो ।

धनगढीमा प्रायः सबै सडकमा बीचमा वा किनारामा खानेपानीको पाइप विछ्याईएका छन् । नयाँ उपभोक्ताले खानेपानी पाइप जडान गर्नुपर्दा वा पाइप मर्मत गर्नुपर्दा सडक खन्ने समस्या पहिलेदेखि रहदै आएको छ । नया सडक बनाउदा वा सडक विस्तारका क्रममा किन पहिल्यै समस्या नहुनेगरी खानेपानी पाइप जडान गरिदैन ? उपभोक्ता समितिका अध्यक्ष खातीले भने– सडकको बाहिर दुईतिरबाट पाइपलाइन विछ्याउदा खर्चिलो हुन्छ ।

सडक ग्राभेल वा कालोपत्रे हुनुअघि नै पाइप राखिसकेको हुन्छ । कसैलाई खानेपानी जडान गर्नुप¥यो भने सडक नै खन्नुपर्ने बाध्यता हुन्छ ।
केही साताअघि धनगढी गुरहीचोकदेखि मनेहरासम्म हुलाकी सडक विस्तारका क्रममा पनि वडा नम्बर ८ र ७ का बासिन्दा हप्तौसम्म खानेपानीबाट बञ्चित भएका थिए ।

नया सडक निर्माण वा पुरानो सडकको स्तरोन्नतीका क्रममा खानेपानी, विद्युत लाइन, फाइबर अप्टिकल आदि सुरक्षित ढंगले व्यवस्थापन गर्ने प्रयास किन गरिँदैन ? धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्ट भन्छन्– यो संरचनात्मक समस्या हो ।
उनले थपे– सडक, खानेपानी, विद्युत, टेलिफोनका निकायहरूबीच समन्वयको अभावमा पनि यो समस्या यथावत छ । यी सबै कामहरू समन्वयात्मक ढंगबाट हुनसके मात्र यो समस्या कम हुन्छ ।

उनले सडकको दुवैतिर बाहिर खानेपानी पाइप बिछ्याउन बजेट अभाव हुने गरेको बताए । भने– सडक निर्माणको योजना बनाउँदा खानेपानी, विद्युत पोल, फाइबार, टेलिफोन पोल आदिका लागि आवश्यक बजेट राखिँदैन, त्यसैले समस्या भइरहेको छ ।

सुन्दर, स्वच्छ, समृद्ध नगरको नारा दिएर चुनाव जितेका स्थानीय जनप्रतिनिधिहरू किन वर्षौदेखिका यी समस्याप्रति गम्भीर हुँदैनन त ? धनगढी उपमहानगरपालिका वडा नम्बर १ का निर्वाचित वडा सदस्य सुवास चन्द भन्छन्– हामी जनप्रतिनिधिहरूले हरेक नगर सभामा यी समस्याप्रति ध्यानाकर्षण गराउँछौं, तर नगरको नेतृत्व पंक्तिले कहिल्यै यस्ता कुरामा ध्यान नै दिँदैनन् ।

उनले उदाहरण दिदै भने– झण्डै एक करोड रुपैया लगानीको लक्ष्मीनगरको चार सय मिटर सडक स्तरोन्नती योजनामा पनि खानेपानी पाइप सडकको दुवै किनारा बाहिर राख्नुपर्छ भनेर निरन्तर माग गरियो, तर दुईतीन लाख रुपैयाको समेत व्यवस्था नगरिदिएका कारण सम्भव हुनसकेन ।

उनले स्थानीय जनता, सञ्चारकर्मी सहितका दबाव समुहले पनि निरन्तर घच्घच्याउन नसकेका कारण नगरको अपेक्षित विकास हुननसकेको टिप्पणी गरे । भने– नेतृत्वमा पंक्तिमा नयाँ सोच नै आउन सकेन । सधैं टालटुले ढंगको विकासमा मात्रै ध्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार