१० श्रावण २०८१, बिहीबार

बजारमा निषेधाज्ञा, गाउँमा चहलपहल



अछाम । कोरोना संक्रमण बढेको भन्दै वैशाख १९ गते रातिदेखि अछाममा निषेधाज्ञा जारी गरिए पनि ग्रामीण भेगमा खासै प्रभाव परेको छैन । सबैजसो गाउँमा चिया पसल निर्बाध रूपमा सञ्चालनमा छन् । त्यहाँ बिहानैदेखि स्थानीयको जमघट हुने गरेको छ ।

गाउँमा सामान्य रुघाखोकी भन्दै कोरोनाको प्रभावबाट कोही पनि त्रसित नदेखिएको स्थानीयले बताए । ‘गाउँमा चिया पसल खुलै हुन्छन् । भारतलगायत बाहिरबाट आएकाहरू एकै ठाउँमा झुम्मिन्छन्,’ ढकारीका पूर्णबहादुर बुढाले भने, ‘ढकारी बजार, ढंग्नेटा बजार बन्द छन् । स्थानीयको जमघट हुने गाउँका चिया पसल खुला छन् ।

यसले गर्दा संक्रमणको डर छ ।’ चहलपहल हुने बजारमा मात्रै नभएर गाउँगाउँमा पनि चिया पसल बन्द गर्न सचेतना जगाउनुपर्ने उनको भनाइ छ । सदरमुकाम मंगलसेनसँगै, मुख्य व्यापारिक केन्द्र साँफेबगर, जयगढ, मुजाबगर, कमलबजार र विनायकबाहेक ग्रामीण भेगमा निषेधाज्ञाको प्रभाव परेको छैन ।भारतबाट आएका, काठमाडौं र अन्य जिल्लाबाट घर फर्केकाहरू सबै गाउँमा निषेधाज्ञाको बेवास्ता गरी ढुक्कले समूहमा जम्मा हुने र हिँडडुल गर्ने गरेको स्थानीय बताउँछन् । ‘अहिले कोरोनाको डरले अन्यत्र रोजगारीका लागि गएकाहरू गाउँमा धेरै मान्छे आएका छन् । काफल पाक्ने सिजल भएकाले स्थानीय महिला पनि हूल बाँधेर हिँडेको देखिन्छ,’ मंगलसेन–५ का वेदराज भाटले भने, ‘बजारमा गए कोरोना सर्ने, अरू ठाउँमा हूल बनाएर गए नसर्ने भन्ने हुँदैन । स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ ।’ भित्रभित्रै बिहे, व्रतबन्ध जस्ता काममा पनि ठूलो संख्यामा मान्छे उपस्थित हुने गरेको उनले बताए ।

गाउँमा बिहे, व्रतबन्धमा हुने भीडभाड नरोकिएको ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउद बताउँछिन् । ‘ढकारीदेखि चोइटे खालसम्म अनुगमन गर्‍यौं, गाउँका चिया पसल खुला छन् ।’ उनले भनिन्, ‘अहिले अनुगमनमा निस्कन पनि गाह्रो छ । संक्रमित बढिरहेका छन् ।’

निषेधाज्ञा प्रभावकारी भए, नभएको स्थानीय तहस्तरको अनुगमन समितिलाई जिम्मेवारी भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए । ‘प्रहरी प्रशासनको आवश्यकता परेको हो भने स्थानीय तहहरूले खबर गर्नुपर्‍यो । टोलटोलमा पुगेर माइकिङ गरी जनचेतना फैलाउन भनेका छौं,’ प्रजिअ मल्लले भने, ‘स्थानीय तहमा गएर अनुगमन गर्न भनेर प्रहरीलाई भनेका छौं ।’

प्रजिअ मल्लले जथाभावी समूहमा बाहिर निस्किए प्रशासनले कारबाही गर्छ भन्ने सबैले थाहा पाउन जरुरी भएको बताए । पालिकास्तरमा गठन भएको अनुगमन समिति र जनप्रतिनिधिको सक्रियता बढेमा संक्रमण रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘गाउँसम्म पहुँच भएका जनप्रतिनिधिहरू छन् । प्रशासनको मात्रै जिम्मेवारी होइन,’ उनले भने, ‘प्रत्येक पालिकामा प्रहरीका युनिट छन् । सबै खटिनु पर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार