१० श्रावण २०८१, बिहीबार

कोरोना विरुद्धको खोप अभियानः ज्येष्ठ नागरिकको सहभागिता उत्साहजनक



धनगढी । कैलाली जिल्ला । गौरिगंगा नगरपालिका वडा नम्बर ९, मसुरिया स्वास्थ्य चौकी । २०७७ फागुन २५ गते मंगलबार । बिहानैदेखि जेष्ठ नागरिकहरू आउने र जाने क्रम जारी रहेको थियो । नेपाल सरकारले कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरण अन्तर्गत आइतबारेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यस क्रममा कैलालीका चार वटा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

मसुरिया स्वास्थ्य चौकीमा पुगेका वडा नम्बर ९ का ६१ वर्षीय मिठ्ठु लामीछाने कार्ड लिएर खोप लगाउन हतारमा थिए । स्वास्थ्यकर्मीले उनको नाम बोलाएपछि कार्ड समातेर उनी खोप लगाउन गए । खोप लगाइसकेपछि खुशी देखिएका लामिछानेले अनुमोदन दैनिकसंग भने– ‘अब ढुक्क भएको महसुस भयो ।’

सोही वडाका ७१ वर्षीय रामचरण डंगोराथारु कोरोनाको खोप लगाएर घर फर्कदै थिए । उनले भने– कोरोना कालमा कुनै अन्जान ठाउमा जान पनि डर लाग्थ्यो । अहिले पनि कोरोना महामारीको भय हटेको छैन ।

उनले खोप लगाएपछि कडा खालको कोरोनाबाट बचिन्छ कि भन्ने विश्वास लिएको प्रतिक्रिया दिए ।

सो वडाका अन्य जेष्ठ नागरिकहरू कोही कुर्सीमा पालो कुर्दै बसेका थिए । कोही नागरिकताको प्रमाणपत्र बोकेर आफनो नाम टिपोट गराउदै थिए । अनुमोदन दैनिकको टिम सो स्थानमा पुग्दासम्म सो चौकीमा सो वडाका तीन सय १० जना जेष्ठ नागरिकहरुले खोप लगाइसकेका थिए । सो चौकीमा छ सय ३५ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

स्थान नदेख्दा अलमलमा

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पतालमा मंगलबार जेष्ठ नागरिकह्ररुलाई कोरोना विरुद्धको खोपसंगै नियमित खोप सेवा पनि चलिरहेको थियो । शिशुलाई खोप लगाउनका लागि बालबच्चासहित आमाहरू अस्पतालको प्राङ्गणमा बसेका थिए । अस्पतालमा अन्य मौसमी तथा सामान्य विरामीहरूको पनि भिड थियो ।

कोरोना विरुद्धको खोप लगाउने स्थान पछाडिपट्टी भएपछि जेष्ठ नागरिकहरूलाई समस्या भइरहेको थियो । लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय जगन्नाथ बजगाईले स्थान नदेखेपछि ओपिडी पर्चा काट्ने स्थानमा सोधपुछ गरे तर, राम्रोसंग जानकारी पाएनन । अनि अस्पतालको आकस्मिक सेवातर्फ गएका उनले सोधपुछ कक्षमा कर्मचारी नभेटाएपछि अन्यौलता भयो । त्यही रहेका सेवाग्राहीहरूसंग उनले सोधपुछ गरे । तर, कसैले पनि एकिन स्थान भन्न सकेनन । उनी सोधपुछ गर्दै हरेक कोठा धाएपछि कोभिड खोप केन्द्रमा पुगे । उनले केन्द्रमा नागरिकताको प्रमाणपत्र दिएर आफनो नाम टिपोट गराए । अनि ठुलो भिडमा पालो कुर्दै बसे ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का ७२ वर्षीय रुद्र बुढा दमका विरामी हुन । सरकारले जारी गरेको लकडाउनका समयमा उनको औषधि सकियो । तर, कोरोना डरका कारण घरमै बसे । उनले भने– कोरोनाको त्रासका कारण चार महिना कुनै पनि स्वास्थ्य संस्थामा गएन । पछि जनजिवन सामान्य बन्दै गएपछि फेरी चेकजाँच गराएर औषधि खरिद गरेको थिए ।’

उनले अहिले ज्ेष्ठनागरिकलाई कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी पाएपछि हतार–हतार अस्पतालमा तोकिएको खोप केन्द्रमा पुगेको बताए । उनले भने– अहिले खोप लगाएको छु । अब धेरै बाँच्छु भन्ने आशा पलाएको छ ।’

लम्की वडा नम्बर ५ का ७६ वर्षीय शिवप्रसाद उपाध्यायले कोरोनाविरुद्धको खोप लगाएपछि ढुक्क भएको प्रतिक्रिया दिए । उनले भने– बजारमा विभिन्न हल्ला थियो । त्यो सुनेर खोप लगाउने की नाइ भन्ने चिन्ता थियो तर, खोप लगाएपछि ती सबै झुठा जस्तै लागेको छ ।

लम्की चुहा अस्पतालमा कोरोना खोप लगाउने ज्येष्ठ नागरिकलाई खोप लगाएपछि हुन सक्ने सम्भावित लक्षणका बारेमा पनि स्वास्थ्यकर्मीहरूले जानकारी दिइरहेका थिए । उनले भने– सुई लगाएपछि हातमा दिनभरी दुखाई हुने भनेका छन् । ज्वरो, शरिर पनि दुख्न सक्छ भनेका छन् । त्यस्तो केही लक्षण भए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न पनि भनेका छन् ।’ उनले कोरोना लागेर मर्नुभन्दा त्यसबाट बच्ननै खोप लगाएको प्रतिक्रिया दिए ।

लम्की र गौरिगंगामा मात्र होइन कैलालीको टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि कोरोना विरुद्धको खोप लगाउने ज्येष्ठ नागरिकको संख्या सन्तोषजनक रहेको थियो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने– अहिले खोप केन्द्रमा खोप लगाउन आउनेको संख्या हामीले सोचभन्दा बढीनै देखिएको छ ।’

उनले लक्ष्यअनुसारको खोप उपलब्धता नभएपछि अहिले चारवटा स्थानीय तहमा अभियान शुरु गरिएको बताए । स्वास्थ्य कार्यालय कैलालीका अनुसार ५५ वर्षभन्दा माथिका एक लाख १८ हजार दुई सय ६६ जनामा कोरोना खोप लगाउने लक्ष्य रहेकोमा अहिले ४७ हजारका लागि मात्र खोप रहेकाले चार स्थानीय तहमा शुरु गरिएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार तीन दिनमा चार वटा पालिकामा १८ हजार छ सय आठ जनाले खोप लगाएका छन् । धनगढी उपमहानगरपालिकामा तीन हजार एक सय ६६ महिला र तीन हजार पाँच सय ३० पुरुष गरी छ हजार छ सय ९६ जना ज्येष्ठनागरिकले खोप लगाएकोमा १५ जनामा अवान्छित असरहरू देखिएको जनाइएको छ ।

यस्तै गौरिगंगा नगरपालिकामा पाँच हजार नौ सय ९९, टीकापुरमा तीन हजार चार सय ५७ र लम्की नगरपालिकामा दुई हजार चार सय ५६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार