१६ बैशाख २०८१, आईतवार

स्थानीय तहले आरडीटी खरिद गर्दै



धनगढी । कैलालीका अधिकांस स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् ।

कैलालीका लम्कीचुहा, गौरीगंगा र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरिसकेका छन् भने टीकापुर नगरपालिकाले आरडीटी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

क्वारेन्टाइनको खर्च धान्न कठिनाई भएपछि स्थानीय तहहरूले आरडीटीको व्यवस्थापन गरेर परीक्षण कार्य तीब्र बनाउन आरडीटी खरिद गरिएको बताएका छन् ।

लम्कीचुहा नगरपालिकाले एक हजार थान आरडीटी खरिद गरेको छ । भने जोशीपुर गाउँपालिकाले एक हजार तथा गौरीगंगा नगरपालिकाले छ सय, भजनी नगरपालिकाले सात सय र जानकी गाउपालिकाले दुई सय थान आरडिटी खरिद गरेको जनाइएको छ ।

क्वारेन्टिनमा नागरिक राख्नुभन्दा आरडिटी किन्न सस्तो भएको स्थानीय तहले जनाएको छ । आरडिटी परीक्षण भरपर्दो नरहेको गुनासो रहे पनि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पाँच दिनसम्म स्वाब संकलनमा रोक लगाएपछि स्थानीय तहले आरडिटी गरेर नेगेटिभ आएकालाई घर फर्काउन थालेका छन् ।

टीकापुर नगरपालिकाले अहिलेसम्म नौ सय ९४ जनालाई आरडिटी परीक्षण गरेर घर फिर्ता गरिसकेको जनाइएको छ । तीमध्ये पाँच जनामा पोजेटिभ देखिएको बताइएको छ । उनीहरूलाई स्वाब परीक्षणका लागि क्वारेन्टिनमा राखिएको छ । टीकापुर नगरपालिकामा १९ स्थानमा रहेका क्वारेन्टिनमा एक हजार छ सय ६६ व्यक्ति रहेका छन् ।

टीकापुर नगरपालिकाले पिसीआर परीक्षणका लागि सात सय नौ जनाको स्वाब संकलन गरेको जनाएको छ । ती स्वाब पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा अझैं चार सय तीन जनाको नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म दुई सय ९२ नतिजा आएकोमा चार केसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय तहमा रहेका क्वारेन्टिनमा दैनिक ठूलो रकम खानामा मात्र खर्च भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । टीकापुर नगरपालिकाले क्वारेन्टिनमा रहेका व्यक्तिहरूलाई सामान्य खाना खुवाउँदा पनि एक जनालाई दैनिक तीन सय रुपैया खर्च हुने गरेको जनाएको छ । टीकापुर नगरपालिकाले क्वारेन्टिनमा रहेकाहरूलाई दिनको दुई पटक नास्ता र दुई पटक खाना दिने गरेको छ । ‘दैनिक चार लाख रुपैया खानामा खर्च भइरहेको छ’ टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भनिन्– अब धेरै दिन धान्न नसक्ने अवस्था आएको छ । व्यवस्थापनमा समेत समस्या भएकाले १४ दिन पुगेकालाई आरडीटी जाँच गरेर घर पठाउने गरेका छौं ।

टीकापुर नगरपालिकाले प्रदेश सरकारसंग थप आरडिटी र पिसीआर माग गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले नगरपालिका आफैंले आरडीटी किन्ने तयारी गरेको जानकारी दिए । ‘धनगढीमा पिसीआर परीक्षण सुस्त गतिमा छ । अझैं चार सय तीन जनाको नतिजा आएकै छैन’ उनले भने– अब प्रतिक्षा गर्न नसकिने अवस्था आएकाले १४ दिन पुगेकालाई आरडिटी गरेर घर पठाउन थालेका हौं । हामी कहाँ आरडिटी पनि सकिएकाले किन्ने प्रक्रियामा छौं ।

जानकी गाउपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले ‘भारतबाट फर्केकाहरूको स्वाब परीक्षणका लागि कुराएको बताए । उनले भने– नेपालका अन्य जिल्लाबाट आएकालाई आरडीटी गर्दै घर पठाउन थालेका छौं । परीक्षण गर्न गाउँपालिका आफैँले दुई सय थान आरडीटी किट किनेको छ ।

क्वारेन्टिनमा दैनिक लाखौं व्ययभार थपिएपछि स्थानीय तहका जनप्रतिनिधिले व्यवस्थापन गर्नमा समस्या आएको गुनासो गर्न थालेका छन् । कतिपय स्थानीय तहले स्वाब परीक्षणमा पनि पहुँचको कुरा आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार