सीमानामा पुगेका नेपालीलाई पानी र चाउचाउ वितरण
धनगढी । भारतबाट फर्किरहेका नेपालीहरुलाई विभिन्न व्यक्तिहरुले चाउचाउ र पानी वितरण गरेका छन् ।

भारतका विभिन्न ठाउँबाट त्रिनगर भन्सार नाकामा पुगेकाहरुलाई भोक र प्यास मेटाउन व्यवसायीहरुले आइतबार दिउँसो चाउचाउ र पानी दिएका हुन् । लायन्स क्लब अफ धनगढी ग्रिन सिटीले २५ र सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सका प्रतिनिधि महेश फुलाराले १० पेटी चाउचाउ वितरण गरेका छन् भने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र सदस्य महेन्द्रकुमार सिंहले ४० पेटी पानी वितरण गरेका छन् ।
कोरोना भाइरसका कारण रोजगारी गुमेपछि हजारौं नेपालीहरु नेपाल प्रवेश गर्न सीमामा पुगेका छन् । भारतबाट बस रिजर्व गरिआइरहेका उनीहरुले बाटोमा खाना र पानी नपाउँदा भोकै सीमानामा पुगेर स्वदेश प्रवेश गर्न प्रतिक्षा गरिरहेका छन् ।