१० श्रावण २०८१, बिहीबार

भारतबाट फर्किन तछाडमछाड



  • आरडीटी अभावमा स्वास्थ्य परीक्षण नगरिकनै पठाइँदै
  • शुक्रबार मात्रै १८ सय बढी भित्रिए
  • फर्किएकाहरुको व्यवस्थापनमा कठिनाई थपियो
  • व्यवस्थापनको जिम्मेवारी बहनबाट पन्छिँदै सरकार

धनगढी । पाँच दिनदेखि भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपाल आइरहेका नेपालीहरुलाई स्वास्थ्य परिक्षण नै नगरी पठाइएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार नाका भएर भारतबाट पाँच दिनदेखि दैनिक दुई हजार भन्दा बढीको संख्यामा नेपाली ओइरिरहेका छन् ।

भारतका विभन्न शहरबाट कैलाली भन्सार नाकाहुँदै आएका नेपालीहरुलाई स्वास्थ्य परिक्षण नै नगरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने गरिएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को जोखिम ह्वात्तै बढेको छ ।

शुक्रबार कैलाली, बैतडी र डडेल्धुरामा गरी पाँच जनामा कोभिड–१९ संक्रमण पोजिटिभको पुष्टि भइसकेको छ ।

शुक्रबार मात्र भारतबाट आएका एक हजार ८०० नेपाली कैलाली भन्सार नाका हुँदै नेपाल भित्रिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले आरडीटी किट नभएका कारण शुक्रबार नेपाल भित्रिएका नेपाली मध्ये कसैको पनि स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भारतबाट नेपाली आउनेबारे पूर्व जानकारी नहुँदा व्यवस्थापन गर्न कठिनाई भइरहेको स्वीकारे । उनले भारतबाट आउनेहरुको पुर्व जानकारी नहुँदा परीक्षण किट र यातायात व्यवस्थापनमा निकै कठिनाई भएको बताए ।

उनले भने– प्रदेशमा कोभिड १९ को जोखिम बढेको छ, व्यवस्थापन गर्न निकै अप्ठेरो भइरहेको छ ।

यस अघि बिहीबारसम्म तीन हजार २५५ नेपाली भारतबाट नेपाल प्रवेश गरेकोमा आरडीटी किटको अभावमा ६७० जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १५ जनामा आरडीटी पोजेटिभ देखिएको कैलाली स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालसिंह धामीले जानकारी दिए । “पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर चेकजाँच हुदैछ । अहिले उहाँहरुलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ” निमित्त प्रमुख धामीले भने– आरडीटी किटको अभावमा स्वास्थ्यजाँच गर्न सम्भव नभएकाहरुलाई सम्बन्धित जिल्ला र स्थानीय तहको जिम्मा लगाइएको छ ।

उनले पनि दिनहँु भारतका विभिन्न शहरबाट नेपाल आउनेको भीड बढेपछि सामान्य चेकजाँच र व्यवस्थापनमा कठिनाइ थपिएको बताए ।

भारतमा कोभिड–१९ को संक्रमण तीब्र बन्दै गएपछि घर फर्किने नेपालीहरुको संख्या निकै बढेको छ ।

कैलालीमा छ सय जति किट मौज्दात रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनले प्रदेशका अन्य जिल्लाहरुमा पनि केही किट मौज्दात रहेको बताए । रोजगारीका लागि भारतका विभिन्न शहरबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालका ३४ जिल्लाका नेपालीलाई स्वदेश ल्याइएको कैलाली जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुम्बईमा रहेका नेपालीहरुलाई मे १८ मा फोन गरेर “सरकारले भारतमा रहेका नेपालीलाई आउनु भनेको” भनेर भनेको फोन टेप सार्वजनिक भएको छ । तर, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुवेदीले प्रदेश सरकारले यस्तो कुनै आह्वान नगरेको बताए ।

नगर प्रमुख वडले भने– व्यवस्थापन गर्न निकै कठिनाई भो

भारतका विभिन्न शहरबाट कैलाली भन्सार नाका हुँदै दिनहुँ सयौंको संख्यामा नेपाली ओइरिन थालेपछि व्यवस्थापनमा निकै कठिनाई थपिएको बताए ।

उनले आफूले पटकपटक भारतमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई “जो जहाँ हुनुहुन्छ, त्यही सुरक्षित भएर बस्नुस्” भनेर पटकपटक अनुरोध गरेको बताउँदै अहिले दैनिक भारतका विभिन्न शहरबाट दर्जनौ बसमा नेपाली आइरहेकोले व्यवस्थापन गर्न निकै गाह्रो भएको बताए ।

नगर प्रमुख वडले भने– धनगढी त्रिनगर भन्सार नाका भएर दैनिक सयौंको संख्यामा आइरहेका छन् । हामीसंग न आरडीटी किट छ, न यतिका मान्छेलाई राख्ने, खुवाउने व्यवस्था नै ।

उनले आफूहरुले पलियामा लामो समयदेखि क्वारेन्टाइनमा रहेका १६९, रामपुरमा रहेका ९५ र पिलिभितमा रहेका ३५ जना नेपालीलाई नेपाल ल्याउन पहल गरेको र उनीहरुको स्वास्थ्य जाँच तथा अन्य व्यवस्था गरिएको बताए ।

“अहिले दैनिक आइरहेका यति धेरै मानिसको उपमहानगरपालिका एक्लैले व्यवस्थापन गर्न सक्दैन” उनले भने– त्यसैले अब नेपाल आउनेहरुलाई सम्बन्धित जिल्ला वा स्थानीय तहको जिम्मा लगाउने बाहेक अरु विकल्प छैन ।

उद्दारमा खटिए वडाध्यक्ष विष्ट

कैलालीको त्रिनगर सिमानाकामा डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हर्क बहादुर बिष्ट तीन दिनदेखि भारतबाट फर्किएका नेपालीको उद्दार गर्न अहोरात्र खटिरहेका छन् । भारतका विभिन्न शहरबाट त्रिनगर भन्सारमा अलपत्र परेका नेपालीलाई उद्दार गरी वडाध्यक्ष बिष्टले डोटीका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी घर पठाउने व्यवस्था गरिरहेका छन् ।

उनले तीन दिनको अवधिमा केआईसिंह गाउँपालिकाका २३७ जना र शिखर नगरपालिकाका २०० जनालाई छ वटा बसमा पठाएको बताए । सीमानाकामा ब्यानर टांगेर अलपत्र परेका नेपालीहरुलाई नास्ता, पानी खुवाउने व्यवस्था गर्दैआएको वडाध्यक्ष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार