१० श्रावण २०८१, बिहीबार

भारतबाट स्वदेश फर्किनेको लर्कोः भारतको अत्यासलाग्दो यात्रापछि स्वेदशको बास…



धनगढी । भारतका विभिन्न शहरबाट बुधबार साँझ ७ बजेसम्म १० वटा यात्रुबाहक बस धनगढीसंग सिमा जोडिएको भारतीय सिमानाका गौरिफन्टा आइपुगिसकेका थिए । तर, अझैं बस आउने क्रम जारी थियो । त्यतिबेलासम्म भारतका विभिन्न शहरबाट छ सय बढि नेपाली नेपाल–भारत सीमामा आइपुगिसकेका थिए ।

सिमानाकामा धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वड र वडा नम्बर ८ का अध्यक्ष नारायण बराल सहितका जनप्रतिनिधि आफैं उपस्थित थिए ।

भारतबाट फर्किने नेपालीहरुको व्यवस्थापनमा खटिएका सरकारी अधिकारी तथा सुरक्षा अधिकारीहरुलाई हम्मेहम्मे भइरहेको थियो । अबेर रातीसम्म पनि भारतबाट नेपालीहरु आउने क्रम नरोकिएपछि फिल्डमा खटिएका प्रशासनिक तथा सुरक्षा अधिकारीहरुको अनुहारमा चिन्ताको भाव देखिन्थ्यो । फिल्ड खटिएका कैलाली जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशी र सुरक्षा अधिकारीहरु प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई रिपोर्टिङ गरिरहेका थिए । सरकारी अधिकारीहरुलाई अवेर रातिसम्म आइरहेका नेपालीलाई कहाँ राख्ने ? कहाँ पठाउने ? कसरी पठाउने ? के खुवाउने ? चिन्ताले सताईरहेको थियो ।

राति ९ बजेसम्म ५० जनाको क्षमता भएको भन्सारस्थित नवदुर्गा माध्यामिक विद्यालयमने क्वारेन्टाइनमा डेढ सय बढि पुगिसकेका थिए ।

उनीहरु भोकभोकै आएको र नेपाल भित्र आईसकेपछि पनि खानाको व्यवस्थापन र तयारी हुन नसकेकोले रातभरी भोकै रहनु पर्ने अवस्था आउने देखेपछि राति व्यापारी श्याम तायल, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा र चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद उनीहरुको सहयोगका लागि अगाडी सरे ।

संघका उपाध्यक्ष ओझाले बुधबार नेपाल भित्रिएका सबै नेपालीलाई खानाको जिम्मेवारी लिए । तत्काल जानकी टेण्ट हाउसबाट खाना पकाउने व्यक्तिको प्रबन्ध गरियो । त्यतिबेलासम्म डेढको हाराहारीमा नेपालीहरु त्यहाँ पुगिसकेका थिए । ्उनीहरु दिनभरी भोकभोकै थिए । भोकप्यासले छटपटिएका उनीहरु मध्ये धेरै जना एक साता लामो यात्रापछि धनगढी आईपुगेका थिए ।

हप्तादिनपछि खाना पाईने सुनेर उनीहरु निकै खुशी भए । तर, एकछिनपछि त्यहाँ रहेका कुक र सहयोगी बेपत्ता भईसकेका थिए । उनीहरु साढे १० बजेसम्म सम्पर्कमा आएनन । पछि उनीहरुले आफूहरु भारतबाट ठूलो संख्यामा आएका नेपालीहरुको भीड देखेर डराएर भागेको बताए ।

संघका उपाध्यक्ष ओझाले हरेर खाएनन । उनी राती साढे ११ बजे गाडी लिएर चौलानी डिपार्टमेण्टमा पुगे । र, त्यहाबाट ३० पेटी बिस्कुट, ३० पेटी पानी, ३० पाकेट फुरन दाना लिएर नवदुर्गा विद्यालयमा पुग्दा रातिको साढे १२ बजिसकेको थियो ।

राजस्थानबाट आएका बैतडीको दशरथचन्द नगरपालिकाका एक युवाले आफूहरुले ६ दिनदेखि अन्न खान नपाएकोले भात खान पाए हुन्थ्यो भनेर आग्रह गरे ।

डोटीको शिखर नगरपालिकाका एक बयस्कले पाँच दिनको यात्रापछि धनगढी आइपृुगेको र बाटोमा कोराना सर्ने डरले केही नखाएको सुनाए ।

हरिद्वारबाट आएका लमजुङका एक युवक सुनाए– हामीले दिनभरी एउटा केरा मात्र खान पाएका छौ । चार दिन त केही नखाएर बितायौ ।

उनीहरुका पीडा सुनेर भावविह्वल बनेका संघका उपाध्यक्ष ओझाले भने– यो तपाईहरुकै लागि ल्याएको हो । कुक भागेकोले हामी चिन्तित थियौ । तपाईहरु आफै बनाउन तयार हुनु भयो । धन्यवाद ।

एकछिनमै उनीहरुले सामूहिकरुपमा काम थाले । कसैले भाडा पखाले । कसैले पानी भरे । र मध्यराति खाना बनाउन शुरु भयो । उनीहरु मध्ये धेरै जना भारतका बिभिन्न होटलमा कुक र सेफ गर्नेहरु थिए ।

राति डेढ बजे खाना पाक्यो । खाना पाक्नुअघि भोकले छटपटाएका उनीहरुलाई धनगढी भित्रिएका नेपालीहरुलाई बिभिन्न स्थानमा व्यवस्थापन गरी त्यहाँ आईपुगेका मेयर वड र युवा व्यवसायी ओझाले बिस्कुट, चिउरा र पानी वितरण गरेका थिए ।

चौरमा लखतरान पल्टिएका उनीहरुलाई मच्छरले टोकेर नसताओस भनेर मच्छर मार्ने स्प्रे छर्कियो ।
रातको डेढ बजे खाना पाक्यो । उनीहरु खाना खाने तयारीमा जुटे । मेयर वड र व्यवसायी ओझा फर्किने तयारीमा थिए । त्यहाँ रहेका सबै नेपाली दाजुभाईहरुले दुबै प्रति आभार व्यक्त गरे । दुबै जनाको सम्मानमा तालीको गडगडाहट भयो । उनीहरुले आशिष दिए– हाम्रा लागि त सरकार भने पनि भगवान पनि तपाईहरु नै हुनुभयो । दुःखको यो घडीमा हाम्रा लागि मध्यरातसम्म भोकभोकै खट्ने तपाईहरुको सधै कल्याण होस ।

एक हजार बढी नेपाली भित्रिए

भारतको गौरिफण्टा नाकामा अलपत्र परेका थप एक हजार नेपाली नागरिकलाई स्वदेश भित्र्याइएको छ ।

यस अघि तीन सय ७१ नेपाली नागरिकलाई गौरिफण्टा नाकाबाट सुदूरपश्चिम प्रदेश भित्र्याएको थियो । जिल्ला प्रशासन कार्यालय कैलाीका अनुसार भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाकामा पुगेका एक हजार बढी नेपाली नागरिकलाई उद्दार गरी सम्बन्धीत स्थानीय तहमा पठाइने छ । उद्दार गरेका नेपालीलाई आ–आफ्नो स्थानीय तहसम्म लैजान सम्बन्धी स्थानीय तहले नै बसको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । स्थानीय तहले बसको व्यवस्था गर्न नसकेको खण्डमा धनगढी स्थित नवदुर्गा मावि र कैलाली बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा राखिने जनाइएको छ ।

भारत सरकारले नेपाल जान चाहने नागरिकलई सीमा नाकासम्म पु¥याईदिने घोषणा गरे संगै हरेक दिन सुदूरपश्चिम प्रदेश संग सीमाना जोडिएका गड्डा चोकी, गौरिफण्टा, झलाघाट र खक्रौला नाकामा नेपालीको भिड लाग्न थालेको छ ।

त्यस्तै, नेपालका क्वारेण्टाइनमा बसेका भारतीय नागरिकलाई पनि जिल्ला प्रशासन कार्यालयको रोहबरमा सीमानासम्म पठाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार हालसम्म कैलालीबाट मात्रै एक हजार पाँच सय बढी भारतीय नागरिकलाई सीमामा सम्म पु¥याएर भारतीय अधिकारीको जिम्मा लगाइएको छ ।

नेपाल भित्रिएका नेपालीहरुको जिल्ला प्रशासन कार्यालय कैलालीले अभिलेखीकरण गरिरहेको नगर प्रमुख वडले बताए । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता जोशीले भारतबाट गौरिफन्टा नाका हुदै आएकामध्ये झापासम्मका नागरिक रहेको बताए । उनले जिल्ला पहिचान गरेर सम्वन्धीत स्थानीय तहको समन्वयमा पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार